• १६ भदौ २०८१, आइतबार

गलेश्वरधाममा भक्तजनको घुइँचो

blog

साउन अन्तिम सोमबार गलेश्वरको दर्शनका लागि आएका भक्तजन । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन २८ गते । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउन महिनाको  चौथो सोमबारसम्म करिब एक लाख भक्तजनले दर्शन गरेका छन् । साउन महिनाभरि मन्दिरमा भक्तजनको घुइँचो देखिएको छ ।  

बेनी नगरपालिका –९, गलेश्वरमा अवस्थित गलेश्वर मन्दिरमा साउन महिनाको पहिलो सोमबारदेखि अन्तिम सोमबार आजसम्म उक्त सङ्ख्यामा भक्तजनले दर्शन, पूजाआजा र भ्रमण गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । 

साउन महिनामा उल्लेख्य मात्रामा भक्तजनले गलेश्वर शिवालय मन्दिरको दर्शन गर्नुभएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भन्नुभयो, ‘‘साउन महिनाका प्रत्येक सोमबार करिब २५ हजारभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गर्नुभएको अनुमान छ ।”

गलेश्वर शिवालयको महत्व र महिमाबारेमा पछिल्ला केही वर्ष यता प्रचार–प्रसार राम्रो भएकाले भक्तजनको आगमन बढ्दै गएको उहाँले बताउनुभयो । साउन महिनामा चार वटा सोमबारमा उत्साहजनक रुपमा भक्तजन आएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो । साउन महिनामा मुक्तिनाथ दर्शनका लागि आएका भारतीय भक्तजनमध्ये अधिकांशले गलेश्वर मन्दिरमा पनि पूजाआजा गरेको उहाँको भनाइ छ ।  

भक्तजनको सुविधाका लागि गलेश्वर क्षेत्र विकास कोषले निःशुल्क धर्मशालाको व्यवस्था गरेको छ । गलेश्वरमा धार्मिक पर्यटक बढ्नु सकारात्मक सन्देश भएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो । 

ऐतिहासिक र पौराणिक दृष्टिले महत्वपूर्ण मानिएको गलेश्वरधाम रघुगङ्गा र कालीगण्डकी नदीको सङ्गमस्थलमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित छ । गलेश्वरधामको दर्शन र पूजाआजा गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।  

गलेश्वरधामको दर्शन गर्न म्याग्दीसँगै, बागलुङ, पर्वत, कास्की, काठमाडौं, चितवन, स्याङ्जालगायतका जिल्लाबाट भक्तजन आउने गर्दछन् । मन्दिर दर्शनलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी, क्लब, आमा समूहलगायत विभिन्न सङ्घ संस्थाले स्वयंसेवकको रुपमा सहयोग गरेका छन् ।