• १६ भदौ २०८१, आइतबार

बजेट अभावले विमानस्थल निर्माण अलपत्र

blog

सन्धिखर्क समाचारदाता 

सन्धिखर्क, साउन २८ गते । बजेट अभावका कारण अर्घाखाँचीको अर्घाभगवती विमानस्थलको निर्माण कार्य अलपत्र परेको छ । सन्धिखर्क नगरपालिका–१०, शिखरबार्नीमा २०७३ असार १३ गते शिलान्यास भएको विमानस्थलको आठ वर्षमा धावनमार्ग सम्याउने (कटिङ) को काम मात्रै भएको छ । पार्किङलगायतका संरचना निर्माण र ग्राभेल तथा पिच (कालोपत्रे) को काम बाँकी छ । ६० प्रतिशत काम सम्पन्न भए पनि हाल निर्माण कार्य बन्द छ । 

विमानस्थल निर्माणमा हालसम्म करिब २१ करोड रुपियाँ खर्च भएको छ । पहिलो टेन्डरमा पाँच करोड ५० लाख रुपियाँमा कटिङको काम भएको थियो । दोस्रो टेन्डरमा चार करोड, तेस्रोमा छ करोड ५० लाख र चौथो टेन्डरमा चार करोड ८० लाख रुपियाँको काम भएको छ । हाल आठ सय मिटर लम्बाइको धावनमार्ग तयार गरिएको छ । धावनमार्ग थप विस्तारका लागि २०७९ असारमा ठेक्का गरिएको थियो । हाल उक्त ठेक्का सम्पन्न भएको छ ।  

राष्ट्रिय वनको जग्गामा निर्माण भइरहेको विमानस्थल सम्पन्न गर्न करिब ३० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । २०७३ सालमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरे पनि २०७६ सालबाट विमानस्थल निर्माणको काम सुरु भएको थियो । वातावरणीय प्रभाव मूल्याङ्कन तथा विमानस्थलको प्रभावकारिताका विषयलाई लिएर मुद्दा परेको थियो । उक्त मुद्दा छिनोफानो भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हाल बर्सातको समय भएकाले काम अघि नबढेको प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । 

विमानस्थल निर्माणका लागि केन्द्रबाट १० करोड रुपियाँ थप बजेट विनियोजन भएको प्रतिनिधि सभाकी सांसद एवं पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाइली ठकुरीले भन्नुभयो, “अहिले बजेट अभावले काम रोकिएको छ । हामीले थप १० करोड बजेट पारेका छौँ । बर्सात सकिएपछि टेन्डर हुन्छ होला ।”

कति बजेट परेको छ भनेर अहिले नै भन्न नसकिने प्राधिकरणले जनाएको छ । उपप्रबन्धक भुलले भन्नुभयो, “वातावरणीय प्रभाव मूल्याङ्कनको विषयलाई लिएर मुद्दा परेको थियो, त्यो सल्टिएको छ । काम अघि बढ्छ तर अहिले नै कति रकम परेको छ भन्न सकिने अवस्था छैन । प्राधिकरणले विनियोजन गर्दै छ ।”   जिल्लावासी करिब १२८ किलोमिटर सडक यात्रा गरेर रुपन्देहीको भैरहवाबाट हवाईयात्रा गर्न बाध्य छन् । 

जिल्लामा विमानस्थल भए बिहान काठमाडौँ गई साँझ घर फर्कन सक्ने स्थानीय निर्माण व्यवसायी कविराम खनालले बताउनुभयो । आपत्कालीन अवस्थाको काठमाडौँ यात्रा सहज बनाउन र पर्यटन प्रवर्धनका लागि विमानस्थल जरुरी रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “धार्मिक पर्यटनका हिसाबले पनि अर्घाखाँची आकर्षक गन्तव्यका रूपमा विकास हुँदै छ । सुपादेउरालीमा भारतबाट पनि पर्यटक आउने भएकाले पर्यटनको सङ्ख्या वृद्धि हुने छ ।” ४५ सिट क्षमताका जहाज उडान गर्ने गरी विमानस्थल निर्माण गरिने भएको छ । 

विमानस्थल निर्माण सम्पन्न भएपछि अर्घाखाँची, प्युठान, रोल्पा, पाल्पाको पश्चिमी क्षेत्र, गुल्मीको मदाने, मालिका र धुर्कोट गाउँपालिकासहित पश्चिमी क्षेत्र र बागलुङको ढोरपाटन नगरपालिका, बडीगाड र निसीखोला गाउँपालिकालाई सुविधा पुग्ने छ । 

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण सम्पन्न भएपछि प्युठान र रोल्पावासीलाई बुटवल–काठमाडौँ आउजाउमा छोटो दुरी पर्छ । ढोरपाटन सडक सञ्चालन भएपछि सिकार खेल्न ढोरपाटन सिकार आरक्षणमा जाने र फर्कन काठमाडौँबाट हवाईयात्रामा यही विमानस्थलको प्रयोग हुने व्यवसायी खनालले बताउनुभयो ।