• १६ भदौ २०८१, आइतबार

कोइरालाका दुई कृति सार्वजनिक

blog

काठमाडौँ, साउन २८ गते । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा कुलप्रसाद कोइराला लिखित ‘आफ्नो बाटो, आफ्नै पाइला’ आत्मवृत्तान्त र ‘एक्काको जोडा एक्का’ कथासङ्ग्रह आइतबार सार्वजनिक गरिएको छ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यी दुई कृति सार्वजनिक गर्नुभएको हो । नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान संशोधन गर्दा संविधानको मर्मलाई बिर्सन नहुनेमा जोड दिँदै निर्वाचन प्रणाली परिवर्तन गर्दा संविधानले व्याख्या गरे जस्तो सबै जातजातिको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानमा भएको आरक्षणको व्यवस्थालाई सुनिश्चित गराउनु पर्छ तर एक पार्टीको बहुमत कसरी आउँछ भन्ने कुरालाई ख्याल गरेर संशोधन गर्नुपर्ने आवश्यकता छ ।” उहाँले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि कांग्रेस–एमाले गठबन्धन निर्माण भएको छ । अब पनि जनआकाङ्क्षा अनुसार काम गर्न नसकिए निराशा र जनआक्रोश बढ्न सक्छ ।”

पुस्तकका लेखक प्राडा कोइरालाले जीवनमा भोगेका भोगाइ र गरेका कामलाई पुस्तकमार्फत आमपाठकमाझ प्रस्तुत गरेको बताउनुभयो । उहाँले अर्को वर्ष थप दुई पुस्तक प्रकाशनमा ल्याउने तयारी रहेको जानकारी दिनुभयो । दुई पुस्तकमाथि चर्चा गर्दै प्राध्यापक पुरुषोत्तम दाहाल र कलानिधि दाहालले प्राडा कोइरालाको कृतिभित्र जीवनको यात्राका सुरुदेखि हालसम्मको अवस्थालाई चित्रण गरिएको बताउनुभयो ।