• १६ भदौ २०८१, आइतबार

कागजात अध्ययन गर्न समिति गठन

blog

काठमाडौँ, साउन २८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको दीर्घकालीन स्याहार केन्द्र सहायक श्रमिकका रूपमा नेपालबाट लैजान लागिएका श्रमिकको कागजात परीक्षणका लागि उच्चस्तरीय समिति गठन भएको छ । 

इजरायलमा केयर गिभरमा जानका लागि केही व्यक्तिले नक्कली कागजात पेस गरेको भन्ने उजुरी परेपछि श्रम मन्त्रालयका सहसचिव मेघराज रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । 

इजरायलले दुई हजार नेपाली केयर गिभर लैजाने भएपछि वैदेशिक रोजगार विभागले गत असार ११ गतेदेखि साउन ११ गतेसम्म भर्ना छनोट प्रक्रिया अगाडि बढाएको थियो । त्यसका लागि तीन सयलाई वैकल्पिकमा राख्ने गरी आठ सय जना माग गरिएको थियो । 

अनलाइनमार्फत चार हजार २४ जनाको उम्मेदवारी परेको थियो । जसमा दुई हजार २०९ जना पुरुष र एक हजार ८१५ महिला छन् । इजरायलले ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष लैजाने बताइएको छ तर पुरुषको उम्मेदवारी बढी परेपछि सरकारले ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिलालाई अवसर दिन इजरायलसमक्ष आग्रह गरेको छ । 

विभागले यही साउन १८ गतेसम्म पेस गरिएको कागजात परीक्षण गर्ने समय तोकेको थियो । त्यस क्रममा सरकारी मान्यता नभएका तालिम केन्द्र र केयर गिभर तालिम दिन अनुमति नलिएका संस्थाबाट सर्टिफिकेट बुझाएका ३२१ जना र तोकिएको कागजात नपुगेका २४२ गरी ५६३ जनाको आवेदन रद्द गरेको विभागले जानकारी गराएको छ ।

न्यूनतम २५ हजार रुपियाँ बुझाएर 

नक्कली प्रमाणपत्र खरिद गरेका युवा पैसा फिर्ता माग्दै तालिम केन्द्र धाउन थालेपछि यो विषय बाहिर आएको छ । 

मन्त्रालयले पनि यो विषयलाई गम्भीर रूपमा लिएर उच्चस्तरीय समिति गठन गरेको जनाइएको छ । श्रम मन्त्रालयले सहायक श्रमिकको छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन समिति गठन गरिएको जनाएको छ ।