• २७ साउन २०८१, आइतबार

सहज रुपमा सेवा प्रवाह र सुशासन कायम गर्न सांसदको आग्रह

blog

जिल्ला समन्वय समिति तनहुँले गरेको कार्यक्रमामा सहभागी हुँदै सांसद शंकर भण्डारी लगायत।तस्बिर : अमरराज नहर्की

अमररराज नहर्की

तनहुँ, साउन २७ गते। नागरिकलाई सहज रूपमा सेवा प्रवाह र सुशासन कायम गर्न सांसदले जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई आग्रह गरेका छन्।

जिल्ला समन्वय समिति तनहुँको आयोजनामा जिल्ला स्थित सबै पालिका, सरकारी कार्यालय र निकायबाट सञ्चालित विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी वार्षिक प्रगति समीक्षा कार्यक्रममा सांसदले आग्रह गर्नुभएको थियो। 

जनतालाई रोजगारी दिने, युवालाई विदेश पलायन हुनबाट रोक्ने खालका योजना बनाउनुपर्ने र कार्यान्वयनमा ल्याउनु पर्नेमा सांसदको जोड रहेको थियो। 

कार्यक्रमका प्रमुख अतिथि तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले जनताको हितलाई सर्वोपरि ठानी इमान्दारिताका साथ काम गर्न सरकारी कार्यालयका प्रमुखहरूलाई आग्रह गर्नुभयो। 

कार्यक्रममा राष्ट्रिय सभा सदस्य पदम परियारले विकासको काम सबै नागरिकलाई फाइदा हुने गरी गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले भ्रष्टाचारले गर्दा नेपाल विकासमा पछि परेको उल्लेख गर्दै विकास हरेक कामलाई पारदर्शी ढङ्गबाट गर्न कार्यालय प्रमुखलाई सुझाव दिनुभयो।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समन्वय अधिकारी प्रकाश पौडेल लगायतले पारदर्शी र नतिजा मूलक काम गर्नु सरकारी कार्यालयका प्रमुखहरूलाई आग्रह गर्नु भएको थियो। 

जिल्लाको वार्षिक कार्यक्रम अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को  सम्पन्न तथा कार्यान्वयनको चरणमा रहेको कार्यक्रमहरूको अवस्थाबारे जिल्लाका ६७ वटा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले प्रकाश पारेका थिए। उक्त कार्यालयहरूको वार्षिक प्रगति सन्तोषजनक नपाईएकाले कार्य सम्पादनलाई थप सुधार गरेर अगाडि बढ्न निर्देशन सांसदले दिनुभएको थियो।