• २७ साउन २०८१, आइतबार

ग्लोबल टी–२० लिग : रोहितको टोली टोरोन्टो नेसनल्स फाइनलमा

blog

रोहितकुमार पौडेल । फाइल तस्बिर

काठमाडौँ, साउन २७ गते । नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टी–२० लिगको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको दोस्रो क्वालिफायर खेलमा टोरोन्टो नेसनल्सले ब्राम्प्टन वुल्भ्सलाई पाँच विकेटले हरायो । यस खेलमा रोहितलाई आराम दिइएको थियो । लिगमा बंग्ला टाइगर्सले सुपर ओभर खेल्न नमाने पछि टोरोन्टो दोस्रो क्वालिफायका लागि छनोट भएको थियो ।

वर्षाका कारण इलिमिनेटर खेल हुन नसके पछि सुपर ओभरबाट निर्णय लिने लिगको नियम थियो । तर, बंग्लाले सुपर ओभर खेल्न नमानेपछि टोरोन्टो दोस्रो क्वालिफायरका लागि छनोट भएको थियो । वुल्भ्सले दिएको एक सय ४२ रनको लक्ष्य टोरोन्टोले १८.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

टोरोन्टोका लागि ओपनर तथा कप्तान कोलिन मुनरोले ३६, मोहम्मद नवाजले अविजित २४ तथा ओपनर उन्मुक्त चन्दले १९ रन बनाउनुभयो । बलिङमा वुल्भ्सका अखिल कुमारले तीन  तथा एन्ट्र टाय र बेउ वेबस्टारले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वुल्भ्सले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो । वुल्भ्सका लागि निक हबसनले सर्वाधिक ५१ रन बनाउनुभयो । जर्ज मुन्सेले २६, ज्याक जार्बिसले २० र कप्तान डेबिड वार्नरले १३ रन बनाउनुभयो । 

बलिङमा टोरोन्टोका लागि रोमारियो सेफर्डले चार तथा जितेन्द्रपाल माथरुले दुई विकेट लिनुभयो । फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।