• २ माघ २०८१, बुधबार

प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु

blog

प्रकाशविक्रम शाह

धनगढी, साउन २७ गते । सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आइतबारदेखि सुरु भएको छ । आइतबारको बैठक ८ मिनेट २५ सेकेन्ड बसेर सकिएको छ ।

सो अवसरमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सामयिक राजश्व सङ्कलन सम्बन्धी व्यवस्था गर्न बनेको पारित अध्यादेश २०८१ प्रदेश सभामा टेबुल गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले राजनीतिक परिस्थिति परिवर्तन भएर बजेट पारित नभएकोले सो अध्यादेश जारी गर्नु परेको स्पष्टीकरण दिनुभयो । प्रदेश सरकारले बिहीबार सो अध्यादेश जारी गरेको थियो । 

बैठकको सुरुवातमै समय लिँदै नेपाली कांग्रेसबाट निर्वाचित जुना दानीले बाजुरामा पहिरोले परेको क्षति बारे जानकारी  गराउँदै उचित क्षतिपूर्ति र घाइतेको उपचारको लागि प्रदेश सरकारले ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले वर्षाका कारण साँफे–मार्तडी र मार्तडी–कोल्टी सडक अवरुद्ध भएकोले चाँडै सञ्चालन गर्न आग्रह गर्नुभयो । 

सो अवसरमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी, अक्कल रावल र गीतादेवी माललाई सार्वजनिक लेखा समिति, ओमविक्रम भाट, माया पन्त र झपट साउदलाई सामाजिक विकास समिति, रमेशसिंह धामी, लक्ष्मी विक विधायन तथा प्रदेश मामिला समितिमा मनोनयन गरिएको बताउनुभयो ।

प्रदेश सभाको अर्को बैठक साउन २९ गते मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ । यही क्रममा उपयुक्त दिन छनौट गरेर मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत दिनु हुने भएको छ ।