• २७ साउन २०८१, आइतबार

अमेरिकाले जित्यो ओलम्पिकमा महिला फुटबलको स्वर्ण

blog

महिला फुटबलको स्वर्णसहित अमेरिकाका खेलाडी ।

काठमाडौँ, साउन २७ गते । पेरिस ओलम्पिकमा महिला फुटबलको स्वर्ण अमेरिकाले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा अमेरिकाले ब्राजिललाई १–० गोलले हराउँदै स्वर्ण जितेको हो ।

प्रतिस्पर्धात्मक खेलमा अमेरिकालाई जिताउन मेलोरी स्वानसनले निर्णायक गोल गर्नुभयो । उहाँले ५७औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । अमेरिकाले १२ वर्षपछि ओलम्पिकको महिला फुटबलका स्वर्ण जितेको हो । 

ओलम्पिकमा पाँचौँ पटक महिला फुटबलको स्वर्ण चुमेको अमेरिकाले यसअघि सन् १९९६, २००४, २००८ र २०१२ मा स्वर्ण जितेको थियो । सेमिफाइनलमा अमेरिका जर्मनीलाई १–० र ब्राजिलले स्पेनलाई ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । कांस्य पदक जर्मनीले जितेको छ । जर्मनीले स्पेनलाई १–० गोलले हराएको हो । एजेन्सी