• २७ साउन २०८१, आइतबार

माछा पोखरीमा डुबेर एकको मृत्यु

blog

राजकुमार भट्टराई 

खोटाङ, साउन २७ गते । खोटाङमा एक वृद्धको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । सालेका गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका ८४ वर्षका वेदि प्रसाद ढकालको पोखरीमा डुबेर मृत्यु भएको हो ।

वृद्ध ढकाललाई आइतबार बिहान घर नजिकै माछा पाल्न निर्माण गरिएको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बेलुका खाना खाएर घरमा सुत्नुभएका ढकाल बिहान पोखरीमा मृत अवस्थामा भेटिनुभएको परिवारका सदस्यले बताएका छन् । आइतबार बिहान ५ बजे वृद्धलाई मृत अवस्थामा भेटिएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । 

शवलाई जिल्ला अस्पताल दिक्तेल ल्याएर पोष्टमार्टम पश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो ।