• २७ साउन २०८१, आइतबार

युवालाई विश्वस्त पार्न वर्तमान गठबन्धन : सञ्चारमन्त्री गुरुङ

blog

तस्बिर : रासस

कीर्तिपुर (काठमाडौँ), साउन २७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ । 

राजधानीको मच्छेगाउँस्थित न्यु होराइजन एकेडेमीद्वारा यस वर्षको एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले युवाको सीप विकास गर्ने गरी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने र विद्यालयदेखि विश्वविद्यालयसम्मको पठनपाठन, परीक्षालगायत काम क्यालेन्डर अनुसार तोकिएको समयमा हुने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकास र गुणस्तर वृद्धि गर्न राजनीतिक स्थिरता आवश्यक पर्दछ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो । उहाँले संसदमा पहिलो र दोस्रो ठुला दल मिलेर बनेको गठबन्धनले राजनीतिक स्थिरताका साथै शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले आफूले रोजेको विषय वा क्षेत्रमा पूर्ण मेहनत र लगावका साथ अध्ययन गरे असफल हुनु नपर्ने बताउनुभयो । विद्यार्थीलाई विज्ञान तथा प्राविधिक वा व्यवस्थापन वा कुनै पनि विषयमा विज्ञता हासिल गर्नेतर्फ लाग्न उहाँले आह्वान गर्नुभयो । “यसका लागि मेहनत र लगाव चाहिन्छ । मेहनत गर्‍यो भने सफलता प्राप्त गर्न सम्भव छ । दुवैखुट्टा नभएकाले पनि सगरमाथा चढेकाको उदाहरण छन्”, मन्त्री गुरुङले भन्नुभयो । 

विद्यार्थीलाई ठुलो सपना देख्न र त्यसलाई पूरा गर्नेतर्फ लाग्न उहाँले आग्रह गर्नुभयो । बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठले आफ्नो लक्ष्य प्राप्तिका लागि दृढ भएर लाग्न सबै विद्यार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्री गुरुङले एसइईमा उत्तीर्ण विद्यार्थीलाई समान्न पत्र प्रदान गर्नुभएको थियो । विद्यालयबाट एसइईमा सहभागी ५७ जना नै उत्तीर्ण भएका थिए । ए प्लस हासिल गर्ने विद्यार्थी १३ जना रहेका विद्यालयले जनाएको छ । रासस