• १६ भदौ २०८१, आइतबार

विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधार गर्न २५ लाख सङ्कलन

blog

त्रिवेणी (रुकुम पश्चिम), साउन २७ गते । रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न २५ लाख सङ्कलन गरिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका-१० डाडाँखालीमा रहेको सरस्वती आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरीय शिक्षा प्रदान गर्न  सहयोग सङ्कलन अभियान थालिएको हो । 

विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरीय शिक्षा प्रदानका लागि भनेर थालिएको सहयोग सङ्कलन अभियानमा हालसम्म २५ लाखभन्दा बढी रकम सङ्कलन भएको सहयोग अभियान सङ्कलनकर्ता टिकाराम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार देश तथा विदेशमा रहनुभएका दुई सय ४३ नेपालीबाट उक्त रकम सङ्कलन भएको हो । विद्यालयको भौतिक संरचना तथा विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग सङ्कलन अभियान थालिएको पुनले जानकारी दिनुभयो । 

सङ्कलन गर्ने कार्य अझै जारी रहेको र सङ्कलन भएको रकम केही दिनमा विद्यालयलाई हस्तान्तरण गर्ने उहाँले जानकारी दिनुभयो । आठबिसकोट–१० फलाटे निवासी पुन अहिले रोजगारीको सिलसिलामा अमेरिका बस्दै आउनुभएको छ । गत कात्तिक १७ गते गएको भूकम्पले विद्यालय भवन क्षति पुर्‍याएको र पठनपाठनमा समस्या भइरहेका बेला विद्यालयको भौतिक संरचना निर्माण तथा शिक्षा सुधारका निम्ति सहयोग सङ्कलन गर्नु निकै उदाहरणीय काम भएको सरस्वती माविका प्रधानाध्यापक कमानसिंह कुसारीले जानकारी दिनुभयो ।  

सरकारी निकायले समेत विद्यालयको भौतिक संरचना निर्माणमा नजर नपुगेका बेला रकम सङ्कलन गरी विद्यालयका निम्ति सहयोग सङ्कलन गरेकामा विद्यालय परिवार खुसी भएको समेत प्रअ कुसारीले उल्लेख गर्नुभयो । सङ्कलन भएको रकमबाट विद्यालयको बालमैत्री वातावरण निर्माण, शुद्ध पिउने पानीको व्यवस्थापन, खेलकुद मैदानको निर्माण, इन्टरनेट तथा कम्प्युटर कक्षाको स्थापना, गुणस्तरीय खाजा घरको निर्माण र बालमैत्री पठनपाठन प्रणालीको विकास गरिने विद्यालयले जनाएको छ । हाल सरस्वती आधारभूत विद्यालयमा बालशिक्षा देखि कक्षा ५ सम्म पठनपाठन सञ्चालन भइरहेको प्रअ कुसारीले जानकारी दिनुभयो । रासस