• १६ भदौ २०८१, आइतबार

दोलखा-सिँगटी सडक पहिरोले दुई सातादेखि अवरुद्ध

blog

दोलखाको उत्तरी क्षेत्रको लाईफलाइन दोलखा–सिँगटी सडकअन्तर्गत झमार्सी खोलामा अवरुद्ध बनेको दोलखा-सिँगटी । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, साउन २७ गते । दोलखाको उत्तरी क्षेत्रको लाइफलाइन मानिने मुख्य सडक दोलखा-सिँगटी सडक पहिरोले दुई सातादेखि अवरुद्ध भएको छ । सो सडक अवरुद्ध हुँदा उत्तरी क्षेत्रका तीन गाउँपालिकाका बासिन्दाको जनजीवन प्रभावित बनेको हो । 

जिल्लाको बिगु र गौरीशङ्कर गाउँपालिका जाने सवारीसाधन पूर्ण रूपमा ठप्प भएको छ । यातायातका साधन ठप्प भएसँगै सो क्षेत्रका स्थानीयहरूको जीवन कष्टकर बन्दै गएको छ । पहिरोले सडक क्षति भएपछि उत्तरी क्षेत्रका २२ वडाका करिब ५० हजार स्थानीयको जनजीवन प्रभावित बनेको हो ।

साउन १२ मा भएको वर्षाले कालिञ्चोक गाउँपालिका–४ बञ्चरेनजिकै झमार्सी खोलाले सडक बगाएपछि सदरमुकाम चरिकोटबाट उत्तरी क्षेत्र जाने सडक सम्बन्ध टुटेको कालिञ्चोक गाउँपालिका–४ का वडा अध्यक्ष दीपक खुलालले बताउनुभयो । सडक सञ्चालनमा नआउँदा सो क्षेत्रको मुख्य बजार सिँगटा बजारमा उपभोग्य लगायत विभिन्न सामाग्रीहरूको स्टक घट्दै गएको उहाँले बताउनुभयो । 

चरिकोटबाट यात्रु तथा सामान लिएर हिँडेका सवारीसाधनले पहिरो स्थलबाट अर्को गाडी प्रयोग गरेर आवतजावत तथा ओसारपसार गर्दै आएका छन् । दुई वटा गाडी प्रयोग गरेर सामान ओसारपसार गर्दा सामान महँगो पर्ने भएको खुलालले बताउनुभयो । यस क्षेत्रमा निर्माणाधीन साना–ठुला जलविद्युत् आयोजनाको ढुवानी पनि पूर्ण रूपमा प्रभावित बनेको छ । पहिरोले सडक अवरुद्ध भएपछि आयोजना निमार्णको काम समेत प्रभावित भएको छ । 

मुख्य र वैकल्पिक सडक अवरुद्ध भएसँगै सबैभन्दा बढी मारमा बिरामी परेका छन् । बिरामी बोकेका एम्बुलेन्सले वैकल्पिक रूपमा बिरामीलाई झमार्सीमा यात्रीहरू साटासाट गरेर स्वास्थ्य संस्था लैजाने गरेका छन् । मार्सीबाट सानाठुला सबै सवारीसाधन पूर्ण रूपमा बन्द भएका छन् । मोटरसाइकलमा भने जोखिम मोलेर आउजाउ भइरहेको छ ।  

डिभिजन सडक कार्यालय दोलखाका इन्जिनियर भरत श्रेष्ठले सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । सडक खुलाउन फास्टट्रयाकमा ठेक्का आह्वान गरेको बोलपत्र कबोल गराएर १५ दिनको समयसीमामा सडक खुलाउने गरी निर्माण व्यवसायीले काम थालिसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, "निमार्ण व्यवसायीले सडक निमार्ण कार्य सुरु गरिसकेको छ, हामीले कामदार थपेर छिटोभन्दा छिटो सडक निमार्ण गर्न भनिसकेकाका छौँ ।" सडकमा खोलाबाटै क्षति पुगेकाले एकतर्फी पनि सडक सञ्चालन गर्न पनि नसकिएको श्रेष्ठले बताउनुभयो ।

सडक खुलाउनका लागि सबै संयन्त्र परिचालन गरेकाले छिटै सडक सञ्चालन ल्याउने योजना रहेको सडक डिभिजन कार्यालय दोलखाले जनाएको छ ।