• १६ भदौ २०८१, आइतबार

नागरिकताभन्दा राहदानी लिने बढी

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन २७ गते । गोरखामा नागरिकता लिनेभन्दा राहादानी बनाउनेको सङ्ख्या बढी रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८०-०८१ मा जिल्ला प्रशासन कार्यालय गोरखा र इलाका प्रशासन कार्याालय सिर्दिबासबाट नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या ४ हजार ७० छ । 

आर्थिक वर्ष २०८०-०८१ मा गोरखाबाट ८ हजार ३ सय ५९ जनाले नागरिकता लिएकोमा ३ हजार ९ सय ३६ जना पुरुष छन् भने ४ हजार ४ सय २३ जना महिलाले नागरिकता लिएका छन् । सोही अवधिमा १२ हजार ४ सय २९ जनाले राहदानी लिएकोमा ७ हजार ४ सय ७९ पुरुष छन् भने ४ हजार ९ सय ५० जना महिलाले राहदानी लिएका जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत चूडानिधि तिवारीेले जानकारी दिनुभयो । 

उहाँका अनुसार एक वर्षको अवधिमा वैवाहिक अङ्गीकृतको आधारमा ८ जनालाई नागरिकता वितरण गरिएको छ भने ५६ जनालाई गैरआवासीय नागकिरता वितरण तथा आमाको नामबाट १३ जनाको नागरिकता बनाइएको उहाँले बताउनुभयो । 

यसैगरी गोरखामा नागरिकता बनाउने प्रत्येक ब्यक्तिले नागरिकतासँगै राहदानी पनि बनाउने गरेकाले पनि राहदानी बनाउनेको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । अत्यधिक मात्रामा वैदेशिक रोजगारी र विदेश पढ्ने रहरले राहदानी बनाउनेको सङ्ख्या बढेको प्रशासकीय अधिकृत तिवारीको भनाइ छ ।

त्यस्तै गोरखामा ८ हजार १ सय ५ जनामा पुरुष ४ हजार ४ सय ३५ र ३ हजार ६ सय ७० जना महिलालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।