काठमाडौँ, साउन २६ गते । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताउनुभएको छ ।
शनिबार काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताउनुभयो । अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेको भन्दै उहाँले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताउनुभयो ।
‘‘सरकारले अहिले समाजमा देखिएको निराशालाई चिर्ने, काम गरेर देखाउने र डेलिभरेन्स दिने छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘सरकार गठनअघि देशलाई समृद्धिको मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जाने गरी भएको सहमतिको जगमा यो सरकार बनेको तपाईँहरूलाई थाहै छ ।’’
आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उहाँले क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताउनुभयो । आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिलेभन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेको बताउनुभयो ।
अर्को फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जनमतको उपेक्षा गर्दै केही दलहरूले निराशा र अस्थिरता बढाउने गरी भ्रम छरेकाले त्यसलाई रोक्न बनेको कांग्रेस एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट नरहेको सिंहले पुन दोहोर्याउनुभयो । कार्यक्रम बागमती प्रदेशका मन्त्री द्वय हरिप्रभा खड्गी र सुरजचन्द्र लामिछानेको पनि सभागिता रहेको थियो ।
सामाजिक सञ्जाल सन्देश प्रवाहको महत्त्वपूर्ण माध्यम भए पनि दुरुपयोग भइरहेको र केही दलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यम बनाएको भन्दै त्यसमा सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो ।