• १० मंसिर २०८१, सोमबार

गोरखामा बढ्यो डेंगु सङ्क्रमितको सङ्ख्या

blog

गुणबहादुर रोका
सुलीकोट, साउन २५ गते ।
गोरखामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । साउन महिनाको २४ गतेको तथ्याङ्क अनुसार गोरखामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो ।

झण्डै २४ दिनको अवधिमा गोरखामा ७३ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकरी दिनुभयो ।

उहाँका अनुसार साउन १ देखि २४ गतेसम्म जिल्लाको गोरखा नगरपालिाकामा ४२, पालुङटार नगरपालिकामा १८, आरुघाट गाउँपालिकामा १०, बारपाक सुलिकोट गाउँपालिका र गण्डकी गाउँपालिकामा एक÷एक जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

त्यस्तैगरी, साउन महिनामा मात्र गोरखामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । जसमा आरुघाट गाउँपालिकामाम ४२, गोरखा नगरपालिकामा २०, पालुङटार नगरपालिकामा १८ र भीमसेन थापा गाउँपालिकामा दुई जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले बताउनुभयो ।

यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको सययमा टोक्ने गर्दछ ।
डेंगुबाट बच्न सचेतना अपनाउनुको साथै लामखुट्टेको टोकाइबाट बच्न जिल्ला स्वास्थ्य कार्यालय गोरखाले गोरखावासीहरुलाई सूचना निकालेर आग्रह समेत गरेको छ ।

लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, पुरान टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको टयाङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीरमा बिमिरा आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, रक्तस्राब हुने, शरीर दुख्ने तथा ज्वरो आउने लक्षण देखा पर्छन् । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।