• १३ वैशाख २०८१, बिहिबार

तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह

blog

रुपन्देही, वैशाख २३ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गर्नुभएको छ । कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार कांग्रेस र नेकपा (माओवादी केन्द्र)को नगरस्तरीय संयुक्त आमसभामा महामन्त्री शर्माले तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयोे । तालमेल भनेको विविधतामा एकता रहेको उल्लेख गर्दै उहाँले जीवन विविधताकै कारणले चल्ने उल्लेख गर्नुभयो । “जीवन विविधताकै कारणले चल्छ, चिन्दै नचिनेको सँग बिहे भएर जीवन बित्छ, यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस्”, महामन्त्री शर्माले भन्नुभयो ।

अहिलेको समयमा कांग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पु¥याएर मतदान गर्न उहाँले मतदातासामु आग्रह गर्नुभयो । तिलोत्तमामा गठबन्धनका उम्मेदवारले जारी गरेको प्रतिबद्धतापत्रको समेत उहाँले प्रशंसा गर्नुभयो । तिलोत्तममा चक्रपथ निर्माण गर्ने योजना उत्कृष्ट रहेको उल्लेख गर्दै महामन्त्री शर्माले तिलोत्तमाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने योजनाको तारिफयोग्य भएको बताउनुभयो । “जनताको स्वास्थ्यभन्दा ठूलो जनप्रतिनिधि बस्ने भवन हुँदैन्”, उहाँले भन्नुभयो । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले संविधान बचाउनका लागि गठबन्धन गरिएको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले अझै पनि नेपाली समाजमा महिलालाई माथि उठ्न नदिइएको उल्लेख गर्दै यसको अन्त्यका लागि कांग्रेसलाई तीनवटै तहमा विजयी गराउन आग्रह गर्नुभयो ।

कांग्रेस नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाँड्नेबाहेक अन्य केही काम नगरेको बताउनभयो । कोरोना महामारीमा जनताले सिटामोल, अक्सिजन र भेन्टिलेटर खोजेको बेला एमाले सरकार भ्रष्टाचारमा लिप्त भएको उहााँको आरोप थियो । 

प्रदेशसभा सदस्य रमा अर्यालले महिलाका समस्या समाधान गर्न नेतृत्वमा महिला आउनुपर्ने बताउनुभयो । कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार एवं कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउन उम्मेदवार बनेको धारणा राख्नुभयो ।