• ११ मंसिर २०८१, मङ्गलबार

थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रमुख विपक्षी मुभ फरवार्ड पार्टी विघटन

blog

थाइल्याण्ड, असार २४ गते । थाइल्याण्डको संवैधानिक अदालतले मुख्य विपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गर्दै राज्यको शाही परिवारको मानहानिविरुद्धको कानुन संशोधन गर्ने प्रयासलाई संविधानको उल्लङ्घन गरेको ठहर गरेको छ ।

बुधवार न्यायाधीशहरूले सर्वसम्मतिले मुभ फर्वार्ड पार्टीलाई विघटन गर्ने र पार्टीको कार्यकारी बोर्डका ११ सदस्यलाई १० वर्षका लागि राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाउने आदेश दिएको हो ।

शाही अपमान कानुन परिमार्जन गर्न पार्टीको अभियान देशको संवैधानिक राजतन्त्रलाई कमजोर पार्ने प्रयास मानिएको थियो । यसअघि विघटन भएको पार्टीको कार्यसमिति सदस्य रहेका ६ जना सांसदले अहिले सांसद पद गुमाएका छन् ।

जसमा पार्टीका पूर्वनेता पिता लिम्जारोनरात र चैथावत तुलाथनका साथै उपसभामुख पदिपत सुन्तिफाडा पनि हुनुहुन्छ । आफ्नो अनुपस्थितिमा पनि समूहले राजनीतिक एजेण्डा जारी राख्ने निर्णय गरेपछि पिटाले नयाँ पार्टीको विवरण शुक्रबार सार्वजनिक गरिने बताउनुभयो ।

देशको निर्वाचन आयोगले जनवरीमा सोही अदालतले शाही अपमान कानुनलाई खारेज वा परिमार्जन गर्ने कुनै पनि प्रयासलाई रोक्न पार्टीलाई आदेश दिएपछि मुभ फर्वार्ड पार्टीलाई विघटन गर्न संवैधानिक अदालतमा निवेदन दिएपछि विघटन भएको हो ।

फौजदारी संहिताको दफा ११२ ले राजा, रानी, उत्तराधिकारी वा राजाको मानहानि, अपमान वा धम्की दिने व्यक्तिलाई तीनदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ । गत वर्ष थाइल्याण्डको आम चुनावमा राष्ट्रिय सभाको तल्लो सदनमा मुभ फर्वार्ड पार्टी सबैभन्दा ठुलो पार्टीको रूपमा उभिएको थियो । तर यसको प्रधानमन्त्री उम्मेदवार सांसदहरूको बहुमत प्राप्त गर्न असफल भएका थिए । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल