सल्यान समाचारदाता
सल्यान, साउन २४ गते । सल्यान जिल्लामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा कर्णाली प्रदेश पूर्वाधार विकास कार्यालय सल्यानले १७.२ किलोमिटर र सडक डिभिजन कार्यालय दाङले ३१.५ किलोमिटर सडक कालोपत्रे गरेको जनाएका छन् ।
पूर्वाधार कार्यालय सल्यान अन्तर्गत बहुवर्र्षीय योजना लुहाम–काभ्रा पाँच किमी, खलङ्गा–बालुवासङ्ग्रही २.५ किमी, थारमारे–बडागाउँ सडक ७.५ किमी, सोलाबाङ–रिम सडक एक किमी कालोपत्रे गरिएको छ । यस्तै सङ्घीय सरकार अन्तर्गतका दाङ सडक डिभिजन कार्यालयले दिएको जानकारी अनुसार राप्ती राजमार्ग पुनस्र्थापना मर्मत नौ किमी, दमाचौर–गुराँसे ४४० मिटर, शङ्खमूल–छत्रेश्वरी मन्दिर १.१ किमी, थारमारे–रातपहरा सडक १.१५ किमी, थारमारे बजार–क्याम्पस सडक २१० मिटर कालोपत्रे गरिएको छ । त्यसै गरी श्रीनगर–खैराबाङ सडक २.२ किमी, भेरी पुल ४६५ मिटर, खलङ्गा–सालचौर–कालीमाटी सडक ६.५ किमी, आवधिक मर्मत अन्तर्गत खलङ्गा–शीतलपाटी, खलङ्गा–जयतपानी १०.५ किमी सडक कालोपत्रे गरिएको जानकारी प्राप्त भएको छ ।
पूर्वाधार विकास कार्यालय सल्यानले १५.२ कालोपत्रे सडक, २.१ पक्की ढलान गरी १७.३ किलोमिटर पक्की सडक निर्माण गरेको जनाएको छ । पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख हरिबहादुर वलीले यहाँका कच्ची सडकलाई स्तरोन्नति गरी १९ किलोमिटर सडक ग्राभेल गरिएको बताउनुभयो । उहाँका अनुसार सडकमा टेवा पर्खाल दिने, सडक चौडा गर्नेलगायतका काम २२ किलोमिटर भएको छ ।
पूर्वाधार विकास कार्यालयले चालु आवमा सडक निर्माण र स्तरोन्नतिका लागि ५४ करोड ३३ लाख ६७ हजार रुपियाँ खर्च गरेको छ । राप्ती राजमार्गलगायत जिल्लाका विभिन्न सहायक तथा ग्रामीण सडक कालोपत्रे भएपछि विगतमा बर्खाको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा आउजाउ गर्न बाध्य हुँदै आएकोमा कालोपत्रे भएपछि राहत मिलेको छ । त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले त्रिवेणी–लुहाम–काभ्रा हुँदै कालीमाटी जोड्ने सडक स्तरोन्नति हुँदा यातायात सञ्चालनमा सजिलो भएको बताउनुभयो । उहाँका अनुसार १२ किलोमिटर स्तरोन्नति गरिएको छ भने पाँच किलोमिटर कालोपत्रे भएको छ ।
राप्ती राजमार्ग हुँदै रुकुमपश्चिम जोड्ने सडकखण्डको थारमारे–बडागाउँ सडक ७.५ किमी कालोपत्रे भएको छ । सडक कालोपत्रे हुँदा सडक सञ्चालनमा सहजता आएको छ । दार्मा गाउँपालिका–४, मौलोहाले बजारका भद्रबहादुर बुढाथोकीले वर्षायाममा सडक अवरुद्ध हुने समस्या समाधान भएको बताउनुभयो । सडकखण्डको मौलोहाले–बडागाउँ–डाँगीमोडको नौ किलोमिटर कालोपत्रेको काम भइरहेको छ भने यो वर्ष डाँगीमोडदेखि रागचौरसम्मको नौ किलोमिटर सडक कालोपत्रे ठेक्का आह्वानको तयारी भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ ।