नवीन सुवेदी
सुर्खेत, साउन २४ गते । केही समय पहिला वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा सडकमा छाडिने छाडा पशुचौपायाका कारण मानवीय र पशुधन दुर्घटनामा पर्दा हैरानी हुने गरेको छ । गाईले दुध दिन छाडेपछि र गोरुले जोत्न नसक्ने भएपछि स्थानीयले छाडा छोड्दा दुर्घटनाको जोखिमसँगै व्यवस्थापनमा निकै चुनौती नगरपालिकाले खेपिरहेको थियो तर वीरेन्द्रनगर नगरपालिका–११, भेरी नदीस्थित समौजीघाटमा गौशाला निर्माण गरेर छाडा पशुचौपाया राख्न थालेपछि नगर क्षेत्रमा केही हदसम्म दुर्घटनाको जोखिम टरेको छ भने गौशालालाई आयआर्जनमा जोड्ने प्रयासमा नगरपालिका लागेको छ ।
सडकमा छाडा पशुचौपायाका कारण सडक दुर्घटना र मानवीय क्षति हुँदा चुनौतीसँगै आलोचना खेपिरहेको नगरपालिकाले व्यवस्थापनका लागि गौशाला निर्माण गरेर सञ्चालनमा ल्याएको छ । समौजीघाटमा रहेको सुन्दर कर्णाली नामक गौशालामा हाल वीरेन्द्रनगर क्षेत्रमा छाडा छाडिरहेका करिब दुई सयभन्दा बढी अशक्त, घाइते पशुचौपाया राखिएको सुन्दर कर्णाली गौशालाका उपाध्यक्ष रत्नबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार गौशाला व्यवस्थापनमा चुनौती थपिएको र सहयोगको आवश्यकता देखिएको छ ।
पहिलो चरणमा वीरेन्द्रनगर बजार क्षेत्रका सबै छाडा पशुचौपाया लगेर गौशालामा राख्ने त्यसपछि आयआर्जनका लागि रोजगारसँग जोड्ने गरी सञ्चालनको जिम्मा सहकारीले लिइएको छ । गौशालामा राखिएका गाइगोरुको मलबाट जैविक र गँड्यौला मल उत्पादनसँगै नस्ल सुधार गरेर आयआर्जन गर्ने लक्ष्य नगरपालिकाको छ । वीरेन्द्रनगर नगरपालिका–११ ले छाडा पशुलाई गौशालामा पु¥याउने, घाइते र अशक्त पशुचौपायको नियमित उपचार गर्दै आएको पशु प्राविधिक नवराज जैसीले बताउनुभयो । गौशालामा राखिएका गाईहरूमा कृत्रिम गर्भाधान गरेर उत्पादनमा वृद्धि, रोग नियन्त्रण, आर्थिक लाभ र अनुवांशिक सुधार जस्ता काम वडा कार्यालयले सहजीकरण गरिरहेको उहाँको भनाइ छ ।
जैसी भन्नुहुन्छ, “हप्तामा दुई पटक आएर पशुचौपायाको नियमित परीक्षण गरिरहेका छौँ । बजार क्षेत्रमा देखिएका छाडामध्येका कतिपय पशुचौपाया घाइते र अशक्त भएकाले उनीहरूको नियमित स्वास्थ्य परीक्षण गरिरहेका छौँ । गौशालामै काम गर्ने कामदारलाई आयआर्जनमा जोड्ने र गौशालाबाट उत्पादन हुने जैविक मल बिक्री गर्नमा गौशाला सञ्चालन गरिरहेका सहकारीसँग कार्यालयले समन्वय गरिरहेको छ । नगरपालिकाको आफ्नै गौशाला नहुँदा यसअघि वीरेन्द्रनगर क्षेत्रमा छाडा छाडिएका पशुचौपाया माथिल्लो जिल्लामा पठाउने गरिएको थियो । अहिले प्रदेशको भू तथा जलाधार व्यवस्थापन कार्यालयले पशुचौपायालाई खानेपानी सहजताका लागि गौशालानजिकै कृत्रिम ताल निर्माण गरिदिएको छ । तालमा बर्सातको पानी जम्मा हुने गरी चेक ड्याम निर्माण गरेपछि सुक्खा महिनामा पशुका लागि सहजता हुने र तालदेखि तल चिस्यानका कारण घाँस उम्रिनमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।