• १० मंसिर २०८१, सोमबार

विकाससँगै विनाश

blog

सडकले सहज यात्रासँगै मानवीय जीवनशैलीमा सहजता ल्याएको छ । गाउँ गाउँमा निर्माण भएका सडक ग्रामीण भेगको आर्थिक विकासका सहयोगी भइरहेका छन् । सडकको कारण नागरिकको जीवनस्तरमा उल्लेखनीय परिवर्तन आउन सम्भव भएको छ । २०२१ सालमा सिद्धार्थ राजमार्गको निर्माण सुरु भएको थियो । त्यसको चार वर्षपछि यो राजमार्ग सञ्चालनमा आयो । मान्छेले हातले नै खनेको यो सडक अहिले पनि सहज छैन । 

सिद्धार्थ राजमार्ग जस्तो अन्य मुख्य राजमार्गमा नियमित सवारीसाधन सञ्चालन भएको वर्षौंसम्म पनि ग्रामीण क्षेत्रका नागरिक सडक सञ्जालको पहुँचबाट टाढा रहे । उनीहरू मोटर चढ्न मुख्य राजमार्गमा नै आउनु पर्ने बाध्यता थियो । २०४६ को राजनीतिक परिवर्तनपछि बनेका स्थानीय निकायमार्फत विकासको गति लिन सुरु भयो । सडक नै विकासको पहिलो आधार भएकोले स्वाभाविक रूपमा यो क्षेत्रमा लगानी गर्न थालियो । विभिन्न दातृ निकायको सहयोगमा धेरै सडक परियोजना सुरु गरियो । 

आफ्नो गाउँलाई जिल्ला सदरमुकामसम्म जोड्न जनता आफैँ तम्सिए । विकासप्रति स्थानीयको अपनत्व लिने सकारात्मक सोचको विकास भयो तर यो सुखद पक्ष धेरै समय टिक्न पाएन । सुरुवाती राम्रो भए पनि यो कार्यक्रमलाई पछि यति दुरुपयोग गरियो कि आफ्नो गाउँ बनाउने नाममा आवश्यकता पहिचान नै गरिएन । गाउँका नेता र डोजर अपरेटर इन्जिनियर बने । राजनीतिक पार्टीका पैसावाल कार्यकर्ता ठेकेदार हुने र पैसा नभएका सडक उपभोक्ता समितिको अध्यक्ष बन्न मरिहत्ते गर्ने प्रवृत्ति देखियो, जसले गर्दा सडकमा पैसाको खोलो त बग्यो तर उपलब्धि राम्रो हुन सकेन । यसरी खनिएका सडकका कारण सहज रूपमा बजार तथा सिद्धार्थ राजमार्गसम्मको पहुँच बढायो । नागरिकको जीवन यापनलाई निकै सहज बनायो । २०५० को दशकमा गाउँ गाउँमा सडक सञ्जाल यसरी विस्तार भयो कि गाउँले अगुवा सबै इन्जिनियर बने र आआफ्नो गाउँमा सडक पु¥याउने कामको नेतृत्व गरे । उनीहरूले जता जता भन्छन्, त्यतै त्यतै सडकको डोरेटो खन्न थालियो । गाउँ गाउँमा खनिएका केही सडक सुरक्षित यात्राका लागि सहज भएको भए पनि धेरै सडक अस्तव्यस्त अवस्थामा छन् । बिना योजना खनिएका सडकहरूका कारण सिङ्गो गाउँ नै जोखिममा परेका प्रशस्तै उदाहरण छन् । सडकको कारण धेरै परिवार विस्थापित हुनु परेको छ । गल्याङ नगरपालिका–६ मा खनिएको सडकका कारण ५० घर रहेको सिङ्गो गाउँ नै विस्थापित हुनु परेको छ । यो त एक उदाहरण मात्रै हो । सीमित व्यक्तिको स्वार्थका लागि जता मन लाग्यो त्यतै सडक खन्ने प्रवृत्ति २०८० को दशकमा आइपुग्दा पनि यथावत् नै रहेको छ । 

सडक पुग्यो, जमिन बाँझै 

गाउँ गाउँमा सडक मात्रै होइन धेरै सुविधा पुगेका छन् तर गाउँका मान्छे भने सहरतर्फ लागेका छन् धेरै युवा विदेश पुगेका छन् भने तिनका परिवार खेतबारी चटक्कै छोडेर सहरको साँघुरो कोठामा बस्न थालेका छन् । गाउँबाट सहर मोटर जाँदा खाली जान्छ, मान्छे मात्रै बोक्छ तर गाउँतर्फ फर्कंदा मान्छेसँगै उनीहरूले उपभोग गर्ने सामग्री पनि बोक्ने गर्दछ । गाउँ गाउँमा खनिएका सडक बजारका सामाग्री उपभोग गर्ने सहज माध्यम मात्रै बन्न सकेका छन् । गाउँले जीवन सहरप्रति निर्भर हुँदा गाउँको उत्पादन घटेको छ । गाउँका रैथाने बालीको उत्पादनसमेत कम हुँदै गएको छ । सडकको उपयोगिता नै बजारको सामान गाउँ लैजाने हो भन्ने भएको छ । 

बढ्यो गाउँको विकास

हजारौँ किमी ग्रामीण सडकको निर्माणले नेपालको ग्रामीण क्षेत्रको विकास दु्रत गतिमा भएको पाइन्छ । गाउँमा खानेपानी, स्वास्थ्य शिक्षा जस्ता आधारभूत क्षेत्रमा राम्रो विकास भएको छ । गाउँमा नै सेवा लिन सक्ने सहज वातावरण बनाउन गाउँ गाउँमा खनिएका सडकले राम्रो भूमिका खेलेका छन् । गाउँका स्रोतसाधनको उपभोग सहरसम्म पुगेको छ । गाउँमा खेर गइरहेका सामग्रीमा सहज पहुँच पुगेको छ । 

कृषि तथा हरित सडकको नाममा निकै प्रचारप्रसारका साथ निर्माण गरिएको ग्रामीण सडकमा करोडौँ लगानी भइसकेको छ तर जति लगानी भए पनि ग्रामीण सडकमा वर्षामा यात्रा गर्न सहज छैन । यस्ता सडकमा बाह्रै महिना सवारीसाधन चल्न सक्ने अवस्था छैन । गाउँका सडक हिउँदमा धुलो र वर्षामा खाल्डो पर्ने गर्छ । योजना नबनाई खनिएका कारण यस्ता सडकमा बर्सेनि करोडौँ रकम लगानी गर्नुपर्ने अवस्थामा छ तर सडक भने जस्ताको तस्तै रहने गरेको छ । 

आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार हाम्रा सडकको अवस्था सन्तोषजनक छैन । पछिल्ला वर्षमा सडक विस्तार र राम्रो बनाउने प्रयास भने भएको देखिन्छ । २०८० फागुनसम्ममा प्रादेशिक र स्थानीय गरी ६७ हजार २४६ किलोमिटर सडकमध्ये चार हजार ८०९ किमी सडक कालोपत्रे गरिएको छ । १४ हजार २१४ किलोमिटर ग्रावेल गरिएको छ तर सडकको सबैभन्दा ठुलो हिस्सा अर्थात् ४८ हजार २२३ किलोमिटर सडक धुले अर्थात् कच्ची रहेको छ । यो प्रायः सबै सडक ग्रामीण भेगको नै हो, जुन गाउँले जीवनसँग प्रत्यक्ष जोडिएको छ । 

पछिल्लो समय गाउँको जनसङ्ख्या घटिरहेको छ । युवापुस्ता विदेशतर्फ गइरहेका छन् भने तिनका परिवारका सदस्य सहरबजारमा बस्न थालेका छन्, जसको कारण गाउँको सडक प्रयोगविहीन बन्दै गएको छ । अस्तव्यस्त रूपमा रहेका सडकका कारण वर्षामा पहिरो जाने क्रम बढेको छ । सडकको कारण त्यसको वरपरको भाग मात्रै होइन, पहाडी क्षेत्रमा भिरालो जमिन भएकाले निकै तलसम्म त्यसको असर परेको देखिन्छ । योजनाबिना खनिएका सडकका कारण खेतीयोग्य जमिनसमेत मरुभूमि भएका छन् । खनिएका सडकलाई क्षति कम गर्ने र व्यवस्थित गराई प्रयोगमा ल्याउन सके मात्रै गाउँको बस्ती पलायन हुनबाट रोक्न सकिन्छ । 

  

Author

राधाकृष्ण डुम्रे