• २ माघ २०८१, बुधबार

काँग्रेसले सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने

blog

बैठकबारे जानकारी दिनुहुँदै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महत।

काठमाडौँ, साउन २३ गते। सानेपामा बसेको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत भएको छ।

बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा सो प्रस्ताव प्रस्तुत भएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो। उहाँकाअनुसार बैठकमा विभिन्न ११ वटा विषयवस्तु प्रवेश भएका छन्। जसमा महासमितिको बैठकले विभिन्न प्रस्तावमा छलफल गरी प्रस्ताव केन्द्रीय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रीय समितिमा पदाधिकारीले तयार गरेको परिमार्जन प्रस्ताव उपर छलफल गर्नेछ। 

उहाँले राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन गरेको बताउनुभयो। अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले अनुशासन सम्बन्धी विषयमा भएका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। 

क्रियाशील सदस्यताको नयाँ र नवीकरणको विषयमा बिहीबारको बैठकमा छलफल हुने बताउनुभयो। विदेशस्थित जनसम्पर्क समिति विधान अनुकुल र त्यहाँको व्यवहारिकतालाई मध्यनजर राखेर के गर्न सकिन्छ भन्ने विषय पनि छलफलको विषय बनेको बताउनुभयो। 

पार्टीको विधानअनुसार नियमावली संशोधनको विषय पनि छलफलको लागि प्रवेश भएको र पार्टीको चुनावबाट निर्वाचित भइ जिम्मेवारी लिइसकेपछि काम र पार्टीको अपेक्षाअनुसार जनता र देशप्रति समर्पित भएर काम गर्ने सम्बन्धमा निर्देशिका प्रस्ताव भएको बताउनुभयो। 

अर्को बैठक बिहीबार १ बजे बस्ने प्रवक्ता महतले जानकारी दिनुभयो। नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनामा परी चार जना चिनियाँ नागरिक र पाइलटसहित दुर्घटनामा परेकोबारे पार्टीले दुःख प्रकट गरेको छ। काँग्रेसले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ। बंगलादेशमा भएको राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको उहाँले बताउनुभयो।