• २४ साउन २०८१, बिहिबार

बाँकेमा आकस्मिक अवतरण भएको हेलिकप्टर बिहीबार मात्र उड्ने

blog

बाँके राप्तीसोनारी कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको हेलिकप्टर । तस्बिर सौजन्य : सशस्त्र प्रहरी

सिराज खान 

नेपालगन्ज, साउन २३ गते। काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एअरको नाइन एन एएनयु हेलिकप्टर बुधबार रातभर बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिने भएको छ।

हेलिकप्टरलाई बिहीबार मात्र प्रक्रिया पुरा गरेर गन्तव्यतर्फ पठाइने सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण हेडक्वाटरका सशस्त्र एसपी विमल डाँगीले बताउनुभयो। 

नेपालगन्जमा तेल भरेर बैतडी जान उडेको सो हेलिकोप्टर नेपालगन्ज नपुग्दै मौसमको खराबीका कारण अपराह्न ४ बजेर ४० मिनेटमा बाँके राप्ती सोनारी गाउँपालिकाको भम्कामा खेतमा आकस्मिक अवतरण गरेको थियो। 

सशस्त्र एसपी डाँगीका अनुसार हेलिकप्टरमा सवार भारतीय नागरिक भारत बल्लभगढ हरियाणाका विजयसिंह भण्डारी र मोहनसिंह भण्डारी तथा पाइलट राजेन्द्र दुवालसहित हेलिकप्टर पनि सुरक्षित रहेको बताउनुभयो। 

बेलुका ६ बजेपछि हेलिकप्टर उडाउन नमिल्ने भएकोले सो हेलिकप्टरलाई बुधवार सशस्त्र प्रहरीको कुसुमस्थित बेस क्याम्पमा राखिने र बिहीबार मात्र गन्तव्यतर्फ उडाउने एसपी डाँगीले बताउनुभयो।