• १२ मंसिर २०८१, बुधबार

सङ्गीतकार कामतको परिवारलाई राष्ट्रपति पौडेलको समवेदना सन्देश

blog

काठमाडौँ, साउन २३ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ शास्त्रीय सङ्गीतकार एवम् गायक गुरुदेव कामतको निधनबाट नेपाली गीत सङ्गीतको क्षेत्रले एक कुशल सङ्गीत साधक र शास्त्रीय सङ्गीतका एक चम्किलो प्रतिभा गुमाएको बताउनुभएको छ। राष्ट्रपति पौडेलले गुरुदेव कामतको निधनमा उहाँका परिवारलाई एक समवेदना सन्देश पठाउँदै सो धारणा व्यक्त गर्नुभएको हो। 

“विभिन्न भाषाका गीत, शास्त्रीय सङ्गीत प्रशिक्षण एवम् गायनका माध्यमबाट कैयौँ कालजयी गीत, गजल र भजनका सृजना नेपाली गीत संगीतप्रेमीलाई दिनुभएका कामतले यस क्षेत्रमा पुर्‍याउनुभएको योगदान नेपाल र नेपालीमाझ सदैव स्मरणीय रहनेछ”, उहाँले समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ। 

राष्ट्रपति पौडेलले  गुरुदेव कामतको निधनको खबरले अत्यन्त दुःखी भएको बताउँदै स्वर्गीय कामतको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। साथै दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। 

सो समवेदना सन्देश सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र लहान नगरपालिकाका मेयर महेश कुमार चौधरीले कामतका परिवारजनलाई बुधबार हस्तान्तरण गर्नुभएको थियो।