• २४ साउन २०८१, बिहिबार

‘शिक्षा क्षेत्र राजनीति मुक्त हुनुपर्छ’

blog

प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति । फाइल तस्बिर

काठमाडौँ, साउन २३ गते । सांसदहरूले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरूले यस्तो बताउनुभएको हो । 

बैठकमा रणकुमारी बलामपाखी मगरले विद्यालयस्तरमा मातृ भाषा अध्ययनको लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिनुभयो । विद्यालयमा अध्यापन गराउने शिक्षक राजनीतिमा संलग्न हुन नपाउने तर आस्था भने राख्न पाउने उहाँको भनाइ छ । सांसद मनिष झाले विद्यालयमा प्राध्यापक, उपप्राध्यापक नियुक्ति, सञ्चालक समिति वा अन्य कुनै पनि नियुक्तिमा राजनीतिकरण गर्न नहुने भन्नुहुँदै संशोधन प्रस्तुत गर्नुभयो ।

सांसद सुनिता बरालले विद्यालय सञ्चालक समिति समावेशी बनाउनुपर्ने धारणा राख्नुभयो । संशोधनकर्ता सांसदहरूले विद्यालयको भौतिक संरचना र पाठ्यक्रम अपाङ्गतामैत्री हुनुपर्ने विषयलाई ऐनमै समावेश गर्नुपर्ने, विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग अनावश्यक शुल्क उठाइरहेका र तोकिएकै स्थानमा आवश्यक सामाग्री किन्न बाध्य पर्ने गरिएकाले विद्यालय पोसाक, पुस्तक र कपी अभिभावक आफैँले खरिद गर्न पाउनुपर्ने व्यवस्थालाई विधेयकमै उल्लेख गर्नुपर्नेमा पनि जोड दिएका छन् । 

यसैगरी विद्यालयको स्थापना र सञ्चालन, पाठ्यक्रम तथा पाठ्यसामग्री र शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारी नियुक्ति, पदीय आचरण, सरुवा, कारबाही तथा अवकाशका विषयमा एकरूपता ल्याउनका लागि पनि विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षा परीक्षा प्रणाली, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को पाठ्यक्रम र समग्र संरचनालाई परिमार्जन तथा पुनः संरचना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले बङ्गलादेशमा अध्ययनको सिलसिलामा रहेका करिब १४ सय ७८ जना विद्यार्थी सुरक्षित रहेको समिति समक्ष जानकारी गराउनुभयो । रासस