केदार तिमल्सिना
बनेपा, साउन २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) सहजीकरणका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन राजनीतिक दलहरूबिच भएको सहमति नयाँ सरकारको पहिलो सफलता भएको बताउनुभएको छ ।
इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार बनेपामा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले टिआरसीमा दलहरूबिच भएको सहमतिले यो सरकारको गन्तव्य (आयु) लामो छ भन्ने सन्देश दिएको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले अहिले खेलाडीहरू नामको लागि भन्दा पनि नाम र दामको लागि खेल्ने प्रचलन बढी रहेकोले खेलकुदलाई नेपालको समृद्धि, अनुशासन, पर्यटन, राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने बताउनुभयो ।
खेल क्षेत्रले राष्ट्रको स्वाभिमान बचाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका लागि खेलेको भूमिका अतुलनीय रहेको बताउँदै पछिल्लो समय क्रिकेट र भलिबलले नेपाललाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले खेलकुदको क्षेत्रमा रहेको राजनीतिकरण र बेथिति हटाउँदै यस क्षेत्रलाई मर्यादित बनाउनुपर्ने बताउनुभयो ।
उहाँले खेलकुद क्षेत्रको विकास सिङ्गो सरकारको प्राथमिकता रहेकोले आगामी वर्षको बजेटमा खेलकुदको क्षेत्रमा राम्रो बजेट विनियोजन गर्नका लागि पहल गर्ने बताउनुभयो । उहाँले खेलकुदको पूर्वाधार विकास तथा विभिन्न खेलकुदका कार्यक्रमका लागि वार्षिक ५० अर्ब रुपियाँ बजेट आवश्यक पर्ने बताउनुभयो ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि सबै प्रदेशमा बहुउद्देश्यीय खेलकुद मैदान, कर्वड हलका निर्माण तथा १२ महिना नै खेलकुद गतिविधि र प्रतियोगिताहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा आईटिएफतर्फ वर्ष उत्कृष्ट खेलाडीको रूपमा पुरुषतर्फ रिक्सन वाइबा र महिलातर्फ सुस्मिता थापा सम्मानित हुनु भएको छ ।
यस्तै उत्कृष्ट प्रशिक्षकतर्फ कृष्ण थापा, उदीयमान खेलाडीतर्फ सजिना तामाङ, उदीयमान प्रशिक्षकतर्फ मनोज पुलामी सम्मानित हुनु भएको छ । यस वर्ष आइटिएफतर्फ उत्कृष्ट प्रदेशमा लुम्बिनी र उत्कृष्ट जिल्लामा काठमाडौँ सम्मानित भएको नेपाल आइटिएफ महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीले बताउनुभयो ।