काठमाडौँ, साउन २३ गते । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिकमा अमेरिकाले पदक तालिकाका आफ्नो अग्रता कायम राखेको छ ।
साउन ११ गतेदेखि सुरु भएको ओलम्पिकको १२औँ दिन बुधबारसम्म अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ नै काँस्य पदक जित्दै शीर्षस्थान कायम गरेको हो । अमेरिकालाई पछ्याइरहेको चीन दोस्रो स्थानमा छ । चीनले २२ स्वर्ण, २१ रजत र १६ काँस्य पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १४ स्वर्ण १२ रजत र नौ काँस्य जितेको छ । आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ काँस्य पदकसहित चौथो स्थानमा छ । पाँचौँ स्थानमा रहेको ग्रेट ब्रिटेनले १२ स्वर्ण, १५ रजत र १९ काँस्य जितेको छ ।
यस्तै दक्षिण कोरिया ११ स्वर्ण, आठ रजत र सात काँस्यसहित छैटौँ, जापान ११ स्वर्ण, ६ रजत र १२ काँस्यसहित सातौँ, इटाली नौ स्वर्ण, १० रजत र सात काँस्यसहित आठौँ, नेदरल्यान्ड्स आठ स्वर्ण, पाँच रजत र ६ काँस्यसहित नवौँ तथा जर्मनी आठ स्वर्ण, पाँच रजत र चार काँस्यसहित शीर्ष १० मा अटाएको छ । बुधबारसम्म ७६ देशले काँस्यसम्म पदक हात पारेका छन् । एजेन्सी