• २४ साउन २०८१, बिहिबार

बङ्गलादेशमा अल्पसङ्ख्यकमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त

blog

ढाका, साउन २३ गते । व्यापक प्रदर्शनबाट प्रधानमन्त्रीलाई अपदस्थ गरिएको एक दिनपछि बङ्गलादेशमा मानवाधिकार समूह र कूटनीतिज्ञहरूले मङ्गलबार हिन्दूलगायत अल्पसङ्ख्यकहरूमाथि भएको आक्रमणको रिपोर्टप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा सोमबार हमला गरिएको थियो । हिन्दूहरूलाई मुस्लिम–बहुल राष्ट्रमा केही मानिसले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको निकटका रूपमा हेर्छन् ।

भीडले हसिनाका सहयोगीहरूमाथि बदला लिन हमला सुरु गरेको प्रहरीले बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार मुलुकभरमा हसिनाको अवामी लिग पार्टीका कार्यालयमा आगो लगाइएको छ र लुटपाट गरिएको छ ।

बङ्गलादेश हिन्दू बौद्ध क्रिस्चियन एकता परिषद्का महासचिव राणा दासगुप्ताले विज्ञप्तिमा भन्नुभयो, “सोमबार र मङ्गलबार कम्तीमा ९७ स्थानमा अल्पसङ्ख्यक मानिसका घर र पसलहरूमा हमला, तोडफोड र लुटपाट गरिएको छ ।”

सोमबार कम्तीमा १० हिन्दू मन्दिरमा ‘बदमाश’ हरूले हमला गरेको परिषद्ले बताएको छ ।

अस्पतालका एक अधिकारीले सुरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बङ्गलादेशको दक्षिणी बागेरहाट जिल्लामा एक हिन्दू व्यक्तिको कुटेर हत्या गरिएको बताए ।

ट्रान्सपेरेन्सी इन्टरनेसनल बङ्गलादेशका प्रमुख इफ्तिखारुज्जमानले भन्नुभयो, “अल्पसङ्ख्यकहरूमाथि यस्तो तरिकाको हमला भेदभावविरोधी विद्यार्थी आन्दोलनको मूल भावना विरुद्ध हो ।”

ढाकामा अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ‘शान्त’ रहन आह्वान गरेको छ । युरोपेली सङ्घ (इयु) का कूटनीतिज्ञहरूले पठाएको सन्देशमा भनिएको छ, “हामी बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यक र धार्मिक स्थलहरूमा भएको हमलाको रिपोर्टबाट चिन्तित छौँ ।”

“इयु मिसन प्रमुखहरू बङ्गलादेशमा जातीय र अन्य अल्पसङ्ख्यकहरूका पूजा स्थल र सदस्यहरू विरुद्ध हमला भएको रिपोर्टबाट अत्यन्त चिन्तित छन्”, बङ्गलादेशमा इयुका राजदूत चार्ल्स ह्वाइटलीले एक्समा भन्नुभयो, “हामी सबै पक्षलाई संयमता अपनाउन, साम्प्रदायिक हिंसालाई अस्वीकार गर्न र सबै बङ्गलादेशीको मानवाधिकारलाई कायम राख्न अपिल गर्दछौँ ।”

जुलाईको प्रारम्भमा भड्किएको विरोध प्रदर्शनपछि सोमबार अशान्तिको सबैभन्दा घातक दिन थियो । यस दिन कम्तीमा एक सय २२ जनाको मृत्यु भएको थियो ।

एक स्थानीय समाचार पत्रका अनुसार सोमबार भीडले अल्पसङ्ख्यक मुस्लिम सम्प्रदाय अहमदीका केही घरमा समेत आगो लगाएको थियो ।

प्रसिद्ध हिन्दू सङ्गीतकार राहुल आनन्दको घरमा पनि आगो लगाइएको छ । आनन्दले गत वर्ष ढाका भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग भेट गर्नुभएको थियो ।

भारतीय विदेशमन्त्री एस। जयशङ्करले पनि मङ्गलबार नयाँदिल्लीले ‘अल्पसङ्ख्यकहरूको स्थितिका सन्दर्भमा स्थितिको निगरानी गरिरहेको’ बताउनुभएको छ । “कानुन र व्यवस्था स्पष्टरूपमा पुनरबहाली नभएसम्म सरकार अत्यन्त चिन्तित हुनेछ”, उहाँले भन्नुभयो । रासस/एएफपी