• २२ साउन २०८१, मङ्गलबार

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

blog

त्रिवेणी (नवलपरासी),साउन  २२  गते ।  बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्‍य ाउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बलियो स्रोत बनेको छ ।

बन्दीपुरका तुलबहादुर फालमगरले करिब तीन हेक्टर पहाडी पाखोमा भुइँकटहर लगाउनुभएको छ । गत वर्ष खर्च कटाएर रु. दुई लाख ५० हजार आम्दानी गर्नुभएका  उहाँले यस वर्ष भुइँकटहर राम्रो भएकाले रु. तीन लाख आम्दानी हुने बताउनुभयो । “गत वर्षभन्दा यस वर्ष राम्रो भुइँकटर फलेको छ, भाउ पनि राम्रो छ, यसपालि आम्दानी बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो ।

भुइँकटरलाई वर्षमा एकपटक मात्र गोडमेल गरे पनि राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ । रेखदेख राम्रो गरे फल पनि राम्रो लाग्ने उहाँले बताउनुभयो । अन्य बाली लगाउँदा खासै केही नहुने पहाडी पाखोमा भुइँकटर आम्दानीको बलियो स्रोत बनेको उहाँले बताउनुभयो । “यस पाखोमा अरु लगाएर खासै केही हुँदैनथ्यो, भुइँकटहरले राम्रो आम्दानी दिएको छ, माग पनि राम्रो छ”, तुलबहादुरले भन्नुभयो ।

अहिले भुइँकटहर प्रतिगोटा रु ५५ देखि रु. एक सयसम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । भुइँकटहर लिन व्यापारीहरू गाउँमै आउने गरेको उहाँले बताउनुभयो । पहिले बन्दीपुरसम्म यातायातको सुविधा नहुँदा डोकोमा स्थानीय बजार पुर्‍य ाउनुपर्ने बाध्यता रहेकामा अहिले त्यो बाध्यता हट्नाले थप सुविधा भएको अर्का किसान होमबहादुर दिसुवाले बताउनुभयो । गत वर्षसम्म बन्दीपुरसम्म यातायातको पहुँच नहुँदा बर्खामा भुँइकटहर बजार पुर्याउन समस्या हुने गरेकामा अहिले कालोपत्र सडक गाउँ पुग्दा बजारीकरणमा सुविधा भएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको लागनीमा मुण्डे–कीर्तिपुर–बन्दीपुर सडक कालोपत्र भएपछि उत्पादन भएको भुइँकटहर नारायणगढ, बुटवल, भैरहवासम्मका व्यापारीले गाउँमै आएर खरिद गरी लैजाने गरेको उहाँले बताउनुभयो । एक हेक्टर क्षेत्रमा भुइँकटर लगाउनुभएका होमबहादुर यसको बिक्रीबाट आउने आम्दानीले घरखर्च चलाउन सहज हुने जानकारी दिनुहुन्छ ।

बन्दीपुरका करिब ४० घरपरिवार सबैले भुइँकटहर लगाएका छन् । दुई याममा उत्पादन हुने भुइँकटहर यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । पाकेपछि सिधैँ बजारमा नगदमा बिक्री हुने हुँदा यसको खेतीमा यहाँका स्थानीयको आकर्षण बढेको छ । गत वर्षमात्र यहाँका किसानले करिब रु. ५० लाख बराबरको भुइँकटहर बिक्री गरेको तुलबहादुरले बताउनुभयो ।

देवचुली नगरपालिकाअन्तर्गत पर्ने बन्दीपुर गाउँमा राम्रो भुइँकटहर उत्पादन हुने भएकाले यस गाउँलाई भुइँकटहरको पकेट क्षेत्र निर्माण गर्ने गरी चालु आर्थिक वर्षमा कार्यक्रम तय गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउन्भयो । बन्दीपुरको भुइँकटहर बजारीकरणका लागि पालिकाले सहयोग गर्दै आएको र अन्य सङ्घसंस्थासँग मिलेर किसानलाई भुइँकटहर खेतीतर्फ आकर्षित गर्नेगरी काम गरिने उहाँले जानकारी दिनुभयो । भुइँकटहरकै माध्यमबाट बन्दीपुरका स्थानीयको आर्थिक विकास गर्न सकिने भएकाले यसलाई लक्ष्यित गरी काम गरिने नगरप्रमुख न्यौपानेले बताउनुभयो । रासस