• १९ पुस २०८१, शुक्रबार

मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना : कांग्रेस प्रवक्ता महत

blog

सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन २१ गते । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रवक्ता महतले खुकुल्लाे मौद्रिक नीति र कांग्रेस एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिन बढ्दै जाने देखिएको तर्क समेत गर्नुभयो ।

उहाँले सेयर बजारमा भने बिना आधार उकालो चढिरहेको भन्दै यसमा कडा निगरानी राख्न सरकारलाई सचेत गराउनुभयो । प्रवक्ता महतले केहीको चलखेलका कारण सेयर बजार उकालो लागेको हुनसक्ने औँल्याउँदै सर्वसाधारणलाई यसमा लगानी गर्ने कुरामा सचेत हुन पनि आग्रह गर्नुभयो ।

‘‘कांग्रेस र एमालेको जुन संयुक्त सरकार बनेको छ । त्यसले पनि आम जनमानसमा एउटा विश्वास र भरोसा बढेका कारणले पनि आर्थिक गतिविधि आउने दिनमा बढ्छ भन्ने कुरामा म विश्वस्त छु । तर त्यो भनेर हामीलाई निष्क्रिय हुने छुट छैन । हामी अत्यन्त क्रियाशीलताका साथ काम गर्न जरुरी छ भन्ने मलाई लाग्छ ।,’’ प्रवक्ता महतले भन्नुभयो, ‘‘जहाँसम्म मौद्रिक नीतिको सवाल छ । नयाँ मौद्रिक नीति आउँदै गर्दा सेयर मार्केटमा नयाँ गति देखिएको छ । तर यो सेयर मार्केटमा जसरी बुल स्ट्रेन्थ देखिएको छ । त्यसलाई हामीले सहज रूपमा लिनसक्ने अवस्था छैन । त्यहाँ केही चलखेल गर्नेहरूका म्यानुपुलेशन गर्ने सम्भावना देखिएको छ ।’’

प्रवक्ता महतले सर्वसाधारणको लगानी सेयर बजारमा डुब्नसक्ने खतरा रहेको औँल्याउँदै त्यसो हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।