• १६ भदौ २०८१, आइतबार

बङ्गलादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा।

काठमाडौँ, साउन २१ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा जारी रहेको आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय रूपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिनुभएको छ ।

मन्त्री डा. राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोन मार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा सोमबार जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिनुभएको हो । 

त्यस अवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराउनुभएको थियो ।

मन्त्री डा. राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरूको सुरक्षाका लागि उनीहरूको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिनुभयो ।

ढाकास्थित नेपाली दूतावासले बङ्गलादेशमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आजै सूचना जारी गरेको छ ।

सो सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका, हाल त्यहाँ करिब चार सय विद्यार्थी रहेका र उनीहरू सुरक्षित रहेका जानकारी पनि दिइएको छ ।

सो सूचनामा नेपाल फर्कन चाहनेहरूले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासको सम्पर्क ठेगाना पनि दिइएको छ ।

यो पनि पढ्नुहोस