• २० साउन २०८१, आइतबार

आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा छौँ : अर्थमन्त्री पौडेल

blog

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । फाइल तस्बिर

काठमाडौँ, साउन २० गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा सरकार रहेको बताउनुभएको छ।

आइतबार लेखापरीक्षकको संस्था नेपाल अडिटर्स एसाेसियन (अडान) को १९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो। उहाँले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको उल्लेख गर्नुभयो। 

उहाँले  सात दशक लामो सङ्घर्ष गरेर व्यवस्था बदलेको तर जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अब जनताका अधिकारलाई उपयोग गर्ने परिस्थिति बनाउने बताउनुभयो। उहाँले मुलुक आर्थिक रूपमा सक्षम नभएसम्म संविधानमा लेखेका अधिकार जनताले उपभोग गर्न नपाउने बताउनुभयो। 

उहाँले अब सामाजिक र आर्थिक रूपान्तरणमा लाग्नुपर्छ भन्ने मिसनमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। उहाँले राजनीतिक अस्थिरताबाट सिर्जित क्रियाकलापको कारणले अर्थतन्त्रमा शिथिलता देखापरेको बताउनुभयो। अर्थतन्त्रको शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रियाकलापलाई विस्तार गर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘अहिले सरकारले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने दुई वटा कुरामा विशेष ध्यान दिएको छ। सरकारको यो नै महत्त्वपूर्ण कार्यभार र ठम्याई हो भन्ने छ। हामीले सात दशक लामो सङ्घर्ष गरेर व्यवस्था बदल्यौँ। संविधान बनायौँ। संविधानमा सम्पूर्ण जनताका अधिकारलाई समावेश गराइएको छ। दुनियाँका कुनै पनि लोकतान्त्रिक मुलुकको संविधानसँग तुलना गर्दा हाम्रो संविधान अगाडि नै छ। संविधानमा उल्लेख नागरिकका अधिकार जनताले उपयोग गर्ने परिस्थिति बाँकी छ। अबसम्म मुलुक आर्थिक रूपमा समृद्धिशाली र सक्षम हुँदैन। तबसम्म संविधानमा लेखेका अधिकार जनताले उपभोग गर्न पाउँदैनन्। व्यवस्था बदलिसकेकाले अब सामाजिक र आर्थिक रूपान्तरमा लाग्नुपर्छ भन्ने मिसनमा सरकार केन्द्रित छ। राजनीतिक अस्थिरताबाट सिर्जित क्रियाकलापको कारणले अर्थतन्त्रमा सिथिलता देखापरेको छ। अर्थतन्त्रको शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउँदै गतिशील बनाउँदै आर्थिक क्रियाकलापलाई विस्तार गर्ने नागरिक र मुलुकको भविष्यप्रति विश्वास जगाउने छ भन्ने विषयमा सरकार केन्द्रित छ। जनतामा आशा जगाउँदै अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक सामाजिक रूपमा समृद्ध तुल्याउने महाअभियानमा छ।’’ 

उहाँले अडानले मुलुकको आर्थिक क्रियाकलापलाई पारदर्शी, स्वस्थ र अनौपचारी अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो। उहाँले आर्थिक क्रियाकलापमा हुने आर्थिक अपारदर्शिता नहुने गरी भूमिका खेल्ने अपेक्षा लिएको बताउनुभयो।