• १० कात्तिक २०८१, शनिबार

पालिकाको लगानीमा रङ्गशाला निर्माण

blog

झुरझुरेमा निर्माणाधीन सहिद स्मृति रङ्गशाला । तस्बिर : गोरखापत्र

अनिल पराजुली

हेटौँडा, साउन २० गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आफ्नै लगानीमा प्यारापिटसहितको फुटबल रङ्गशाला निर्माण गरेको छ । ४ नं. वडा स्थित झुरझुरेमा निर्माणाधीन सहिद स्मृति रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा रहेको पालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । 

पालिकाले गत आर्थिक वर्ष २०८०–०८१ को असोज १७ गते ठेक्का आह्वान गरी रङ्गशाला निर्माणको काम सुरु गरेको हो । निर्माणाधीन रङ्गशालामा सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्नेगरी तयारी गरिएको उहाँको भनाइ छ ।

युवाहरूलाई खेलकुदमा जोड्न सरकारले वातावरण तयार गर्नुपर्नेमा जोडदिर्दै उहाँले भौतिक संरचना महत्वपूर्ण भएकाले पालिकाको आफ्नै बजेटमा मिनी रङ्गशालामा निर्माण गरिरहेको बताउनुभयो । रंगशाला निर्माणका लागि स्थानीय, नेता, कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारीले समेत श्रमदान गरेका थिए । 

२२ हजार ९२५ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन रङ्गशालाको खेलमैदानको उत्तर–पश्चिम दिशामा ६२ मिटर लम्बाई र १२.५ मिटर चौडाइको प्यारापिट बन्दैछ । प्यारापिट करिब दुई हजार पाँचसय दर्शक अटाउने क्षमताको छ ।

अहिले रङ्गशालाको ट्रस (छाना) सहितको प्यारापिट, ड्रेन (नाला), फेन्सीङ वायरसहितको घेराबार, ड्रेस चेञ्जिङ रुम, शौचालयको निर्माणकार्य भइरहेको सबइन्जिनियर काशी रावलले बताउनुभयो । रङ्गशालाको खेलमैदान, एथ्लेटिक्स ट्रयाक, मिनी ग्राउन्ड निर्माणलगायतका कार्य गाउँपालिकाबाट गरिरहेको र थप केही काम जनश्रमदानमार्फत भइरहेको छ । 

रङ्गशाला निर्माण आयोजनाको प्राविधिक अनुमानित लागत ३ करोड ७८ लाख १५ हजार ४८२ रुपियाँ छ । हेटौँडा–५ को सञ्जय निर्माण सेवा प्रालिले आयोजनाको ठेक्का ३ करोड ९ लाख ५२ हजार ७५७ रुपियाँमा अर्थात निर्माण कम्पनीले १५.९९ प्रतिशत न्यून रकम कबोल गरेर ठेक्का हात पारेको गाउँपालिकाका सब इन्जिनियर राजेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । 

गाउँपालिका र निर्माण व्यवसायीबीच गत माघ ४ गते सम्झौता भएको र सम्झौताअनुसार आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षको माघ ३ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सब इन्जिनियर बोहराले बताउनुभयो ।

रङ्गशाला निर्माणकार्य करिब ८७ प्रतिशत सम्पन्न भएको र बाँकी कार्य एक महिनाभित्र सकाउने गरि काम भइरहेको निर्माण कम्पनीको दाबी छ । निर्माण सम्पन्न भएपछि रङ्गशालामा दुबो हाल्ने र घेराबारका कार्य हुनेछ । सोही रङ्गशालामा पालिकाले सातौँ संस्करणको गोल्डकप आयोजना गर्ने तयारी गर्दैछ । 

यसअघि खेलमैदान नहुँदा पहिलोदेखि छैटौँ संस्करणसम्म वडा नम्बर ८ स्थित जनता माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरेको पालिकाले यसपटक भने आफ्नै रंशगालामा प्रतियोगिता गराउने तयारी गरेको हो ।