• ८ मंसिर २०८१, शनिबार

डोपिङ एक अभिशाप

blog

खेल क्षेत्रमा आधुनिक डोपिङ अवास्तविक कृत्रिम प्रतिस्पर्धाको पर्याय बन्दै गएको देखिन्छ । यो नतिजामूलकसमेत बन्ने गरेको छ, तथापि कतिपय खेलाडीले पछि जाँचबाट लज्जित हुने र कारबाहीमा समेत परेका छन् । सत्य कुरा के हो भने यसका कारणले असल र प्रतिभाशाली खेलाडीले अर्को खेलाडीसँग होइन डोपिङसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ । यसैले डोपिङ खेल क्षेत्रका लागि एउटा अभिशाप र ठूलो सङ्कट हो । त्यसमाथि विज्ञानले डोपिङलाई अभेद बनाउँदै लगेको छ ।

अहिले खेलाडीबीचको प्रतिस्पर्धाभन्दा पनि खेल नियामक अधिकारी र खेलाडीले डोपिङसँग बढी जुध्नु परिरहेको छ । यही भएर होला कुनै बेला अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष हुँआ एन्टोनियो समारान्चले भनेका थिए, “हो डोपिङ मृत्यु जस्तै छ । आफ्नो क्षमतामा पर्दा हालेर ठगीलाई स्वीकार गर्नु भनेको मृत्यु नै हो । त्यहीँनिर खेल भावना र खेलाडीको प्रतिभाको मृत्यु हुन्छ ।” 

कुरा सन् १९८८ मा सम्पन्न सोल ओलम्पिकको हो । क्यानडाका बेन जोन्सनले ९.७९ सेकेन्डमा दौडेर विश्व कीर्तिमान राख्दै सय मिटर दौड जित्नुलाई स्वाभाविक नै मानियो किनभने पछिल्लो ओलम्पिकका विजेता कार्ल लुइसलाई उनले सोल आउनुअघि छ प्रतिस्पर्धामा हराइसकेका थिए । जोन्सनको जितले औधि खुसी क्यानडाका तत्कालीन प्रधानमन्त्री ब्रायन मोरोनीले प्रत्यक्ष टेलिभिजन प्रसारणबाटै टेलिफोन गरेर जोन्सनलाई बधाई दिँदै भने, “क्यानडाका लागि यो अद्भुत साँझ हो,” तर खेल्दै नखेलेर पनि डोपिङका कारण मोरोनीले एकैछिनमा लज्जाबोध गर्नुपर्‍यो र बधाई दिए जसरी माफी माग्नुपर्ने भयो । जोन्सन डोपिङमा दोषी पाइए र लगत्तै मोरोनीले फेरि टेलिभिजनमा आएर भन्नु पर्‍यो, “सबै क्यानडेलीका लागि यो अत्यन्त व्यथा र दुःखको समय हो ।” 

विश्वमा जे जति डोपिङ काण्ड भएका छन् तिनमा जोन्सनको घटना प्रमुख सूचीमा पर्दछ । जोन्सन डोपिङमा परेपछि २४ घण्टामै उनी  बसेको होटलको कोठामा गएर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पदाधिकारीले स्वर्ण पदक खोसेका थिए । वास्तवमा डोपिङले खेलकुदमा यस्तो प्रतिद्वन्द्वीका रूपमा प्रवेश गरेको छ जसले खेल भावना र मेहनतले होइन, कुनै पनि हत्कण्डाले जित्नुपर्ने मानसिकता विकास गराएको छ । 

सन् १९८९ मा जर्मनीको एकीकरणपछि डोपिङसँग जोडिएको सनसनीपूर्ण तथ्य बाहिर आयो । कुरा थियो, तत्कालीन पूर्वी जर्मनीले राज्य प्रायोजित डोपिङ कार्यक्रम नै सञ्चालन गरेको रहेछ । पूर्वी जर्मनीले सन् १९७० देखि १९८० को दशकमा योजनाबद्ध रूपमा आफ्ना खेलाडीलाई शक्तिवर्धक औषधिले सुसज्जित पारेको तथ्य सार्वजनिक भएको थियो । यसबाट राज्यले आफ्ना खेलाडीमाथि होइन डोपिङमा विश्वास गरेको देखियो । 

भलै पश्चिम जर्मनी यस काण्डमा निर्दोष थियो तर विगतको डोपिङ तथ्य सार्वजनिक भएर एकीकृत जर्मनीले विश्वसामु शिर झुकाउनु पर्‍यो । राज्य प्रायोजित डोपिङ त्यत्तिमै सीमित भएन । सन् २०१४ को सोची हिउँदे ओलम्पिकमा आयोजक रुसले योजनाबद्ध रूपमा आफ्ना खेलाडीलाई डोपिङमा लगाएको कुरा एक वर्षपछि अनुसन्धानबाट खुल्यो । रुसको प्रायोजित डोपिङ कार्यक्रम सञ्चालनको कुरा खुलेपछि उसका धेरै खेलाडी प्रतिबन्धमा परेका कारण सन् २०१६ को रियो ओलम्पिकमा सहभागिता जनाउन पाएका थिएनन् । केही खेलाडीले तटस्थ भएर त्यहाँ सहभागिता जनाउन पाए तर रुसको झन्डा रियो डि जेनेरियोमा फहराइएन । 

खेलकुद इतिहासमा जोन्सन शहरका अन्य धेरै खेलाडी छन् जसले प्राप्त गरेका उपलब्धि प्रतिबन्धित औषधि प्रयोग गरेकै कारण उपेक्षामा परेका छन् र तिनका सफलता रेकर्ड पानाबाट गायब छन् । प्रख्यात साइकल दौड खेलाडी लान्स आर्मस्ट्रङ्गले जितेका टुर डी फ्रान्सका सात उपाधि खोसिएको छ बेसबल खेलाडी बेरी बन्ड्सको नाम प्रसिद्ध ‘हल अफ फेम’ बाट हटाइएको छ । यसरी डोपिङका कारणले लज्जित हुने र कारबाहीमा पर्ने अन्य धेरै खेलाडी पनि छन् । कतिपय खेलाडीले आफ्नो क्षमतामा विश्वास नगरेर सफलताको महत्वाकाङ्क्षाले स्वयं डोपिङ अपनाउँछन् भने राज्यले बृहत् रूपमा आफ्ना खेलाडीका लागि डोपिङ कार्यक्रम नै सञ्चालन गर्ने तथ्य रुस र पूर्वी जर्मनीका घटनाबाट स्पष्ट भइसकेको छ ।    

के हो डोपिङ ?

खेलाडीले आफ्नो क्षमताभन्दा माथिको स्तरीय प्रदर्शन गर्न कृत्रिम रूपमा शक्तिवर्धक औषधि प्रयोग गर्नु डोपिङ हो । डोपिङको सहारा लिएका खेलाडीको प्रदर्शनमा ठूलो सुधार आउँछ । शक्तिवर्धक तत्वले शरीरको अक्सिजन उपयोग गर्ने क्षमता बढाउँछन्, अपर्झट आइपर्ने ऊर्जाको आवश्यकता शरीरले सजिलै पूर्ति गर्छ, खेलाडीलाई थकान लाग्दैन र स्फूर्ति बढेको हुन्छ, मांसपेशी लचकदार र बलिया बन्छन् तथा खेलाडी मानसिक रूपमा सशक्त पनि बन्छ । 

यी सबै कुरा हुने भएपछि जितका लागि किन शक्तिवर्धक औषधि प्रयोग नगर्ने ? जितसँगै ख्याति, मानसम्मान र मनग्गे धन प्राप्तिका कुरा पनि जोडिएर आउँछन्, अनि डोपिङको सहारा किन नलिने ? यस्ता कुरा खेलाडी वा सम्बन्धित पदाधिकारीको मनमा उब्जन सक्छ तर उनीहरूले बुझ्नु पर्छ डोपिङ ठगी र कपट हो । यसमा संलग्न हुनेको हविगत एक दिन जोन्सन, आर्मस्ट्रङ्गसरह हुन्छ नै । नेपालमै एथलेटिक्स खेलाडी राजेन्द्र भण्डारीले डोपिङका कारण कोलम्बो सागमा जितेका पदक गुमाउनु परेको कुरा स्मरणीय छ । सबैले बुझ्नु पर्छ कसैले पनि आफ्नो क्षमताले भ्याएसम्म प्रतिस्पर्धा गर्ने हो र क्षमता बढाउन सुटुक्क शक्तिवर्धक औषधि खानुलाई अपराध मानिन्छ ।   

डोपिङका विभिन्न विधि छन् र समयकालमा ती विकास हुँदै गएका हुन् । डोपिङको इतिहास प्राकृतिक तत्व प्रयोग गरेर क्षमता बढाउनेबाट सुरु भएर आधुनिक चिकित्सा विज्ञानको सहारा लिइरहेको अवस्थासम्म पुगेको छ । ओलम्पिक र त्यस शैलीका अन्य क्षेत्रीय प्रतियोगिता जस्तै दक्षिण एसियाको साग तथा विश्वका अन्य खेलकुद प्रतियोगितामा बढिरहेको तीव्र प्रतिस्पर्धा, विज्ञान–प्रविधिका सफलता र व्यावसायिकताको मानसिकताले गर्दा डोपिङ चुनौतीपूर्ण छ । यसलाई पूर्ण रूपमा रोक्न सकिएको छैन न त यो रोकिने नै छ । यही भएर होला अस्ट्रेलियाका व्यवसायी आरोन डी’सुजाले खेलाडीको कुनै पनि खालको जाँच नगर्ने र प्रदर्शन सशक्त बनाउन सहयोगी औषधि मनलाग्दी प्रयोग गर्न पाइने अन्तर्राष्ट्रिय खेल प्रतियोगिता ‘इन्हान्स्ड गेम्स’ सञ्चालन गर्ने योजना बनाएका छन् तर यो साध्य होइन । एक खालका खेलाडीले यस्ता खेलमा सहभागिता जनाउन सक्छन् । सर्वोपरि ओलम्पिक अभियान नै रहने छ । 

विश्व खेलकुदमा ठगी र डोपिङ एकै रूपमा बुझिँदैनन् । डोपिङ त ठगी नै हो तर ठगी डोपिङ नहुन सक्छ । म्याराथन दौडमा धावकले भिडको फाइदा उठाएर सुटुक्क गाडी चढ्ने र अगाडि पुनः दौडमा सहभागी हुने, प्रतिद्वन्द्वीलाई छिर्की लगाउने आदि घटना ठगी हुन् तर शक्तिवर्धक औषधि खानु डोपिङ हो । आधुनिक डोपिङले खेल भावना समाप्त पार्दै छ । जोन्सनको पदक खोसिएको दुई दिनपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका एक पदाधिकारीले त्यसै भनेका थिएनन् 

“ओलम्पिकलाई मर्न नदेऊ ।”

खेलाडी र खेल पदाधिकारीले बुझ्नु पर्छ डोपिङले खेल त जिताउन सक्ला तर त्यसले स्वास्थ्यमा पार्ने प्रभाव खतरनाक हुन सक्छ । साइकल दौडका प्रख्यात अमेरिकी खेलाडी लान्स आर्मस्ट्रङ्ग डोपिङका कारण सन् २०१२ देखि प्रतिबन्धित छन् र उनी क्यान्सरले पीडित पनि हुन् । यसैले त अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पूर्वमहासचिव पियरे बाइस्चले भनेका छन्, “डोपिङमा लाग्ने यी खेलाडीले आफ्ना प्रतिस्पर्धीलाई मात्र ढाँट्दैनन्, आफ्नो स्वास्थ्यलाई समेत जोखिममा पार्छन् । ज्यान जाने अवस्थासमेत ल्याउँछन् ।”

डोपिङका विधि प्राचीनकालमै पनि थिए । प्राचीन ग्रिसमा खेलाडीले आफ्नो प्रदर्शन सुधार्न विशेष आहारा खान्थे । १९ औँ शताब्दीका खेलाडीले आफ्नो क्षमता बढाउन केफिन, कोकिन, अल्कोहल आदि प्रयोग गर्न थाले । २० औँ शताब्दीका आरम्भिक वर्षमा घोडा दौडमा घोडालाई अवैध रूपमा औषधि खुवाउने क्रममा डोपिङ शब्द प्रचलनमा आएको थियो ।

सर्वप्रथम सन् १९२८ मा अन्तर्राष्ट्रिय एमेच्योर एथलेटिक्स फेडरेसनले डोपिङमा प्रतिबन्ध लगाएको थियो । सन् १९६६ र १९६८ मा पहिलो पटक साइक्लिङ र फुटबलमा डोपिङ परीक्षण गरियो तथा सन् १९७० को दशकयता त प्रायः सबै अन्तर्राष्ट्रिय खेल संस्थाले डोपिङ परीक्षण गर्दै आएका छन् । 

सन् २००६ को कोलम्बो सागबाट विधिवत् रूपमा दक्षिण एसियाली खेलकुदमा समेत डोपिङ परीक्षणको व्यवस्था भयो र नेपालका धावक राजेन्द्र भण्डारी त्यसमा परे । उनी मात्र होइन विदेशी केही अन्य खेलाडी पनि परीक्षणमा असफल भएका थिए । राजेन्द्रले जितेका पदकसमेत खोसिए । 

सन् १९९८ मा टुर डि फ्रान्स प्रतियोगितामा ठूलो डोपिङ काण्डको पर्दाफास भएपछि सन् १९९९ मा वाडा (वल्र्ड एन्टी डोपिङ एजेन्सी) स्थापना भई उसले डोपिङ नियन्त्रणका लागि स्पष्ट नीति र मापदण्ड निर्धारण गरेको थियो । वाडाले वार्षिक रूपमा प्रतिबन्धित तत्व र विधिको सूची सार्वजनिक गर्दछ । 

डोपिङका वर्ग

वाडाले छ खालका औषधिलाई खेलकुदमा प्रतिबन्धित गरेको छ । ती हुन् स्टिम्युलेन्ट्स, डाइयुरेटिक्स, एनाबोलिक–एन्ड्रोजिन स्टेरोइड्स, बिटा–२ एगोनिस्ट्स, नार्कोटिक्स एनालजेजिक्स तथा हर्मोन र पेप्टाइड । 

यीमध्ये स्टिम्युलेन्ट्सले मुटुको धड्कन र रक्त प्रवाह बढाएर चनाखोपना र क्षमता बढाउँछ । खेलाडीमा आक्रामक प्रवृत्ति विकास गर्ने र थकान कम लगाउने काम पनि यस वर्गका औषधिले गर्छन् ।  

एनाबोलिक–एन्ड्रोजिन वर्गका औषधिले खेलाडीलाई कडा प्रशिक्षण लिन, मांसपेशी वृद्धि र तिनको ताकत बढाउन तथा चोट लागेमा चाँडै निको हुन सहयोग गर्छन् तर यी औषधिले मिर्गौलामा क्षति गर्ने, रिसाहा बनाउने र शरीरमा हर्मोन असन्तुलन पार्ने जोखिम रहन्छ । हाम्रो शरीरमा उत्पन्न हुने मुख्य एनाबोलिक स्टेरोइड हार्मोन भनेको टेस्टोस्टेरोन हो । यसलाई पुरुष हर्मोन पनि भनिन्छ । महिलाले यो स्टेरोइड प्रयोग गरेमा मांसपेशी र बोली पुरुषको जस्तो हुन्छ । 

डाइयुरेटिक्स वर्गका औषधिले शरीरबाट पिसाब बढी निकालेर सोडियमको मात्रा व्यवस्थापन गर्छन् । खेलमा यी औषधि प्रतिबन्धित भए पनि सन् १९८८ देखि खेलाडीले शरीरबाट पानीको मात्रा घटाएर बक्सिङ जस्ता खेलको कम तौल समूहमा प्रतिस्पर्धा गर्न तथा डोपिङका अन्य तìवमाथि पर्दा हाल्नका लागि यिनको प्रयोग गर्दै आएको देखिन्छ । यस औषधिले मिर्गौला र कलेजो बिगार्न सक्छ । 

नार्कोटिक समूहका तत्वलाई थकान हटाउन, चोट लागे पनि खेलिरहन र आनन्द महसुस गर्नका लागि खेलाडीले प्रयोग गर्छन् । 

डोपिङका लागि अपनाइने पेप्टाइड र हर्मोन उपाय अरूभन्दा धेरै जटिल र प्रभावकारी छन् । यी खेलाडीले विधि प्रयोग गरेको पत्तो लगाउन गाह्रो छ । ह्युम्यान ग्रोथ हर्मोन, इन्सुलिन, एरिथ्रोपोएटिन, ह्युम्यान गोनाडोट्रोफिन आदि यस वर्गमा पर्छन् । यी विधि प्रायः क्यान्सरको उपचारमा प्रयोग गरिन्छन् ।    

हुँदा हुँदा अब त जिन डोपिङ आइसक्यो । उत्कृष्ट प्रदर्शनका लागि खेलाडीलाई आवश्यक परेको तर उसको शरीरमा नभएको जिनलाई जिन थेरापीद्वारा शरीरमा प्रत्यारोपण गर्ने विधि हो जिन डोपिङ । यो डोपिङ पत्ता लगाउन अत्यन्त कठिन छ । कृत्रिम जिन प्रत्यारोपण गरेर हड्डी बलियो बनाउने, मांसपेशी पुष्ट पार्ने, कोषको अक्सिजन ग्रहण गर्ने क्षमता बढाउने जस्ता कार्य जिन डोपिङले गर्छ । वाढाले भने अनुसार डोपिङका पङ्क्तिमा ‘ब्लड डोपिङ’, ‘फर्माकोलोजिकल’, ‘केमिकल’ वा ‘फिजिकल म्युनिपुलेसन’ तथा धेरै पानी पिउने वा परीक्षण पूर्वप्रतिबिन्धत औषधिको प्रभाव न्यून गर्न ‘प्रोबेनेसिड’ खाने कार्य आदि पर्छन् । 

सरसर्ती भन्नु पर्दा खेल क्षेत्रमा आधुनिक डोपिङको प्रभाव रगत डोपिङदेखि सुरु भएर जिन डोपिङसम्म आइपुगेको छ । आफ्नो शरीरको रगत पहिले बाहिर निकालेर फ्रिजमा राख्ने र खेल सुरु हुनु केही समय मात्र बाँकी छँदा समय मिलाएर सोही रगत पुनः आफ्नो शरीरमा सार्ने जस्तो काम सन् १९७० को दशकमा सुरु भएको थियो । सन् १९८६ देखि यो कार्य प्रतिबन्धित छ । 

खेलकुदमा जे जस्ता डोपिङ काण्ड भएका छन् तिनलाई हेर्दा विश्व खेलकुदमा नियामक निकायभन्दा डोपिङ एक कदम अगाडि नै देखिन्छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी वा अन्य खेल संस्थाले डोपिङको एक प्रकारलाई समात्ने गरी कुनै विधि तयार पारेको धेरै समय हुन नपाउँदै त्यसभन्दा जटिल अर्को डोपिङ पद्धति आइसक्छ । 

अल्कोकल परीक्षणबाट थालिएको डोपिङमाथिको निगरानी अहिले इपिओ हुँदै जिन डोपिङसम्म पुगेको छ । प्रयोग गरेको केही समयमै खेलाडीको शरीरबाट इपिओका अवशेष शरीरबाट विलीन हुने चुनौती त छँदै थियो अब जिन नै रूपान्तरित गरिदिए कसरी समात्ने ? यस कारण खेलका नियामक निकायले खेलको विकाससँगै डोपिङका नौला विधि विफल पार्ने उपाय खोज्नमा समेत उत्तिकै ध्यान दिनु परिरहेको छ । यो प्रतिस्पर्धा बिरालो र मुसाको लुकामारी जस्तै हो भन्न सकिन्छ । 

राजेन्द्र काण्ड

सन् २००६ को कोलम्बो सागमा बेजोड प्रदर्शन गरेर दुई स्वर्ण पदक नेपालका राजेन्द्र भण्डारीले जित्दा हर्षोल्लास छायो । राजेन्द्रलाई स्वदेश फर्किएपछि पत्रपत्रिकामा अन्तर्वार्ता दिन भ्याइनभ्याइ भयो । उनलाई सम्मान र पुरस्कृत गर्ने क्रम रोकिएको थिएन । एकाएक  नेपाल ओलम्पिक कमिटीले उनी डोपिङमा संलग्न भएको तथ्य सार्वजनिक गर्दा सनसनी फैलियो । त्यतिबेला धेरै नेपालीलाई डोपिङ भनेको नै थाहा थिएन । कतिपय सञ्चारकर्मीसमेत डोपिङलाई लागुऔषध भन्न थाले, डोपिङको वास्तविकता बुझ्न नै समय लाग्यो । 

डोपिङमा संलग्न पाइएपछि राजेन्द्रले जितेका दुवै स्वर्ण पदक खोसिए । खेलपछि परीक्षण गर्दा राजेन्द्रको शरीरमा प्रतिबन्धित तत्व ‘नोरान्ड्रोस्टेरोन’ पाइएको थियो । कोलम्बोको १० औँ सागमा राजेन्द्रसँगै श्रीलङ्काली धावक जानी चथुराङ्गनी सिल्भ, पाकिस्तानी बक्सरद्वय नौमन करिम र मोहम्मद लासीसमेत डोपिङमा लागेको थाहा भएको थियो । साथै एक जना भारतीय खेलाडीलाई पनि डोपिङमा संलग्न पाइयो । 

–उमेश ओझा