• १९ साउन २०८१, शनिबार

रास्वपाको बन्द कार्यशालाले दियो केन्द्रीय समितिलाई सुझाव

blog

बन्द कार्यशाला पछि आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी ।

काठमाडौँ, साउन १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला बिहीबार सम्पन्न भएको छ। 

कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य मान्यता र लिडरसीप एकेडेमी/क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो । 

कार्यशालाले केन्दीय समितिलाई पार्टी सुधारका लाथि विभिन्न सुझाव दिएको छ । जसमा पार्टीको राष्ट्रिय भेला असोजमा गर्ने, राष्ट्रिय महाधिवेशन २०८२ साल वैशाखमा गर्ने,  विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समिति मार्फत् राष्ट्रिय भेलामा पेश गर्ने, जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेलामार्फत जिल्ला तदर्थ समिति गठन गर्ने उल्लेख छ । 

यस्तै कार्यशालाले पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको बाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने, शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने र देशभर ‘जन आवाज अभियान’ सञ्चालन गर्ने सुझाव दिएको छ । 

कार्यशालाले पार्टीको आचारसंहिता र मुल्य मान्यतामा आधारित दस्तावेजहरु पुनरावलोकन गरी सदस्यहरुबाट प्राप्त सुझावहरु समेत समेटी प्रशिक्षणको सामग्रीमा समावेश गर्ने, पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्स’ को अवधारणा लागु गर्ने, देशको गाउँदेखि विदेशका सहरसम्म नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने, स्थानीय छाँया सरकार गठनको अभ्यास थालनी गर्ने र आगामी साता सातै प्रदेशमा बन्द कार्याशाला आयोजना गर्ने लगायत सुझाव दिएको छ ।