• १९ साउन २०८१, शनिबार

खोलाले बगाउँदै गरेको शव प्रहरीले निकाल्यो

blog

खोलाबाट बुढाको शव निकाल्दै प्रहरी टोली। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, साउन १९ गते। रुकुम पश्चिममा खोलाले बगाएका एक पुरुषको शव फेला परेको छ। जिल्लाको मुसीकोट नगरपालिका–७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढाको शव प्रहरीले फेला परेको हो। 

शनिबार दिउँसो घरबाट गोठ जाने क्रममा मुसीकोट नगरपालिका वडा नम्वर ६ र ७ को झुल्खेतस्थित चुनाखोला तर्ने क्रममा बुढालाई खोलाले बगाएको थियो। त्यसलगत्तै प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट बुढाको खोजीको लागि प्रहरी परिचालन भएको थियो। 

सोलाबाङतर्फ प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलको नेतृत्वमा र झुल्खेततर्फ प्रहरी निरीक्षक ऋषी पाठकको नेतृत्वमा प्रहरी टोलीले खोजी कार्यका लागि परिचालन भएको थियो। 

डिएसपी पोखरेल नेतृत्वको टोलीले मुसिकोट नगरपालिका–१३ को बाउनचौरस्थित खोलामा बग्दै गरेको अवस्थामा शव फेला पारेको हो। डिएसपी पोखरेलका अनुसार खोला किनारमा खोज्दै जाने क्रममा खोला बिचमा बग्दै गरेको अवस्थामा शव देखिएको थियो। प्रहरी हवल्दार हरजित सिंह ठगुन्ना लगायतको टोली तत्कालै खोलामा गएर उक्त शव बग्नबाट जोगाएको थियो। 

अहिले उक्त शव खोला बाहिर निकालेर मुचुल्का लगायका कार्य सुरु गरिएको छ। आफन्तलाई समेत खबर गरिसकिएको उहाँले जानकारी दिनुभयो। त्यसपछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइने छ।