• १९ साउन २०८१, शनिबार

प्रहरी र थुनुवाका लागि पुस्तकालय

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, साउन १९ गते। जिल्ला प्रहरी कार्यालय (जिप्रका) कास्कीले प्रहरी कर्मचारी, सेवाग्राही र थुनुवालाई लक्षित गरी पुस्तकालय चलाएको छ। जिप्रका कास्की हाताभित्रै छुट्टै भवनमा पुस्तकालय चलाइएको हो।

द लाइब्रेरी क्याफे नाम दिइएको पुस्तकालयमा कफीसँगै अध्ययनका लागि पुस्तक उपलब्ध छन्। अपराध अनुसन्धान शाखा र जिप्रका कास्की मातहतका सबै हिरासतमा समेत पुस्तकहरु राखिएका छन्। २०७९ असार १३ गते सुरु भएको पुस्तकालयमा पुस्तक थप्न कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले अग्रसरता लिनुभएको छ।

“म आउनुअघि एक हजार जति पुस्तक थिए। हामीले सार्वजनिक आह्वान गरेपछि तीन हजार जति पुस्तक थपिएका छन्,” उहाँ भन्नुहुन्छ, “पुस्तक थपिने क्रम जारी छ। यहाँ आएर सर्वसाधारणले समेत अध्ययन गर्न पाउनुहुन्छ। कफी मेकरमा आफैं कफी बनाएर सित्तैमा खान पाउने व्यवस्थासमेत मिलाएका छौँ।”

पुस्तकालय व्यवस्थापनका लागि दुई प्रहरी खटाइएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतसहित वडा प्रहरी कार्यालयहरु रामबजार, बैदाम, बगर र इलाका प्रहरी कार्यालय शिशुवाका हिरासतमा पनि पुस्तकहरु राखिएका छन्। “प्रहरी कर्मचारी, थुनुवासहित सर्वसाधारणले पुस्तक पढ्न सकून्, समय व्यतीत गर्न सजिलो होस् र किताबले जीवन सिकाओस् भनी सानै भए पनि पुस्तकालय बनाएका हौँ।”