• १९ साउन २०८१, शनिबार

आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

blog

मध्यविन्दु (नवलपरासी), साउन १९ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका-७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोष्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

“धादिङ गल्छी गाउँपालिका-४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोष्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ”, उहाँले भन्नुभयो । घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो । रासस