• १९ साउन २०८१, शनिबार

देशभर २५ जनामा हैजा पुष्टि

blog

काठमाडौँ, साउन १९ गते । मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । 

पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् । रासस