• १९ साउन २०८१, शनिबार

निर्माण नसकिँदै झोलुङ्गे पुल हेर्नेको घुइँचो

blog

पुवा खोलामा निर्माण हुँदै गरेको झोलुङ्गे पुल । यो पुल ३६६ मिटर लामो छ । पुल हेर्न आएका आन्तरिक पर्यटक । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, साउन १९ गते । पर्यटकीय गन्तव्यका लागि प्रमुख मानिएको इलाम नगरपालिका र देउमाइ नगरपालिकाबिच पुवाखोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण सम्पन्न नहुँदै पुल हेर्नेको घुइँचो लाग्न थालेको छ । 

पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम नगरपालिका –६ र देउमाइँ नगरपालिका –६ जोड्ने गरी ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिरहेको छ । तर निर्माण सम्पन्न नहुँदै दैनिक सयौँ मानिस पुल हेर्न र वारिपारि गर्न जाने गरेका छन् । 

शनिबार र अन्य सार्वजनिक बिदाको दिन त आठ–नौ सय मानिस यहाँ पुग्ने गरेको स्थानीय बुद्धिमान राईले बताउनुभयो । इलाम चियाबारी बिचबाट पश्चिमतर्फ बाह्य बस्ती हुँदै पुग्न सकिने यो पुलमा निर्माण सम्पन्न नभई मानिसको भिडले जोखिम भने भइरहेको स्थानीयको भनाइ छ । 

त्यसै पनि लामो पुल, पुलको बिचभागमा पुगेपछि पुल हल्लिएर त्यहाँ पुगेका मानिसहरू अत्तालिने गरेको बताइएको छ । पारीपट्टि देउमाइँ नगरपालिकातर्फ पुलमुनि बिजुलीको पोल र तारनजिक छ । पुल मज्जाले हल्लियो भने बिजुलीको तार छुने र करेन्ट प्रवाह हुने सम्भावना रहेको अर्का स्थानीय हेम सुब्बाले बताउनुभयो । 


पुलको निर्माण कार्य सक्न केही समय बाँकी रहेको र केही काम पनि बाँकी रहेको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताउनुभयो । ‘निर्माण सक्न बाँकी हुँदै मानिसको घुइँचोले जोखिम त छ, त्यहाँ भिड नियन्त्रणका लागि एक जना नगर प्रहरी पनि राखिएको छ ।’ 

प्रवक्ता दुलालले भन्नुभयो, ‘यो पुललाई इलाम नगरपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न खोजेको छ । यहाँ बन्जीजम्पको सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले केन्द्रमा आग्रह गरिरहेको छ । अब केही समयमा निर्माण सम्पन्न पनि हुन्छ होला ।’ अहिले इलाम नगरपालिकासहित इलाम सदरमुकाम आइपुग्ने मानिसहरू यो पुल हेर्न सेतीदेवी मन्दिरनजिक पुवाखोला पुग्ने गरेका छन् ।