• १९ साउन २०८१, शनिबार

पाँच सयभन्दा बढी बालबालिकालाई सहयोग

blog

खाद्यान्न सहयोग पाएका बालवालिका र सरोकारवाला तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, साउन १९ गते । 
कालीकोट र जुम्ला जिल्लाका पाँच सयभन्दा बढी बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिकामा जोखिममा रहेका बालबालिकाका घर परिवारलाई पछिल्लो समय खाद्यान्न सहयोग गरिएको हो ।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ४८ ले निर्धारण गरेको जोखिमका प्रकारका आधारमा अति जोखिममा रहेका बालबालिकाहरूका परिवारलाई खाद्यान्न सहयोग गरिएको सहयोगी संस्थाले जनाएका छन् ।

सेभःद चिल्ड्रेनको सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालद्वारा सञ्चालित सहयायात्रा परियोजनाले जुम्ला तातोपानी गाउँपालिका भित्रका दुई सय ५० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको हो ।

कालीकोटको शुभकालिका गाउँपालिकामा साझेदार संस्था भिडिसेभ नेपालले १८० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

सहयात्रा तेस्रो परियोजनाका बालअधिकार तथा बालसंरक्षण संयोजक प्रकाशबहादुर शाहीले आर्थिक रूपमा कमजोर घर परिवार भएकै कारणले बालबालिका हरेक जोखिममा पर्ने हुँदा उनीहरूको पोषणका लागि पनि परियोजनाले गाउँपालिकासँग समन्वय गरेर सहयोग गरेको बताउनुभयो । तातोपानी गाउँपालिका भित्रका ८ वडामा छ सय ३ जना जोखिम बालबालिका पहिचान भएको र केही बालबालिका पहिचान हुने क्रम जारी रहेकाले खाद्य अवस्था सारै कमजोर भएका जोखिम बालबालिकाको परिवारलाई खाद्यान्न सहयोग गरेको बताउनुभयो । प्रति परिवारले तीन हजार चार सय ९० रुपियाँ बराबरको सहयोग पाएका हुन् ।

यस अघि विभिन्न विद्यालयमा अध्ययनरत जोखिम बालबालिकालाई शैक्षिक सामग्री समेत सहयोग गरिएको थियो । जोखिम पहिचान भएका छ सय बढी बालबालिकाले विभिन्न सहयोग पाउने भएका छन् । सेभःद चिल्डे्नका तातोपानी गाउँपालिका प्रमुख तथा परियोजना संयोजक जगदीशबहादुर सिंहले जोखिमको प्रकारले सबैभन्दा बढी कुन बालबालिका छन् र उनीहरूलाई के सहयोग गर्दा उपयुक्त हुन्छ भनेर साझेदार संस्था र गाउँपालिकाको समन्वय र वडा पालिकाको प्रत्यक्ष सहभागितामा सहयोग गर्दै आएको बताउनुभयो ।

सहयात्रा परियोजना तातोपानीले यस अघि दुई सय ८५ जना विद्यालयमा अध्ययनरत जोखिम बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको थियो । शैक्षिक सामग्री र खाद्यान्न गरेर ५३५ जनाको सङ्ख्या पुगेपनि केही बालबालिका शैक्षिक सामग्री र खाद्यान्न सहयोगमा दोहोरिएकाले पाँच सयले सहयोग पाएको र बाँकी रहेका बालबालिकालाई पनि तत्काल सहयोग गर्ने योजना रहेको जनाइएको छ । कालीकोटको शुभकालिका गाउँपालिका भित्रका ८ वडाका अति जोखिममा रहेका १८० जना बालबालिकाको परिवारले खाद्यान्न सहयोगी संस्था सेभःद चिल्डे्नको सहयोगमा पाएका छन् ।