• १९ साउन २०८१, शनिबार

काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’

blog

आलुखेती । फाइल तस्बिर

काभ्रेपलाञ्चोक, साउन १९ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका-३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो । 

‘आलु सुपरजोन’का रूपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचार प्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ । प्रारम्भिक चरणमा हाल दुई किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताउनुभयो । 

उहाँका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो । भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन)को आर्थिक सहयोगमा भण्डारण कक्ष निर्माणसहित प्याजिङ गरिएको आलु बजारीकरण सुरु गरिएको थापाले बताउनुभयो । “हाललाई एकतले भवनबाट भण्डारणसहित प्याकेजिङ थालेका छौँ, अब चालु आर्थिक वर्षमा भवनको निर्माण थप्दै प्याकेजिङको परिमाण बढाउनेछौँ”, उहाँले भन्नुभयो । 

उद्योगलाई भन्डार कक्ष र प्याकेजिङ सुरुआतका लागि परियोजनाले गत आवमा पहिलो चरणमा रु १४ लाख सहयोगमा गरेको थियो । केही दिनअघि आलु प्याकेजिङलाई जिल्लास्थित बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारी बताउनुहुन्छ । उद्योगले ‘काभ्रेको चिनारी : पोसिलो आलुको तरकारी’को नारासहित हाललाई प्रतिकेजी ८० का दरले प्याजिङ गरिएको आलु बजार पठाएको हो । 

“आलुको गुणस्तर कायमै राखी बजारको मागअनुसार फरक फरक तौलमा प्याकिङ गर्ने योजना बनाएका छौँ”, अधिकारीले भन्नुभयो । उहाँका अनुसार उद्योगले फरक फरक जातको आलु ‘ग्रेडिङ’ गरी बजार पठाएको छ । उपभोक्ताले आफूलाई मन पर्ने जातको आलु किनेर लैजान सक्ने गरी प्याकेजिङ गरेको जनाइएको छ । सुपरजोन समन्वय समितिका प्रमुख सुमन नेपालले ठुक्क भएर काभ्रेपलान्चोकमा प्याकेजिङ गरिएको आलु खान आग्रह गर्नुभएको छ । 

उहाँले भन्नुभयो, “काभ्रेमा उत्पादित आलु गुणस्तरीय रहँदै आएको छ, उपभोक्ताले विना सङ्कोच किनेर खान सक्नुहुन्छ ।” उहाँका अनुसार यस आलु ब्राण्डिङ कार्यक्रमले अन्य व्यावसायिक कृषकलाई उत्प्रेरण मिलेको पाइएको छ । आलु सुपरजोन कार्यालयले काभ्रेपलान्चोकमा आलुको उत्पादन तथा उत्पादनमा वृद्धि, मल्चिङ प्रविधिलगायतमा सहयोग आएको जनाएको छ आलुको बिउ र मल्चिङ तथा नस्ल सुधार लगायतमा कार्यक्रम कार्यालयले सञ्चालन गर्दै आइरहेको छ । 

कार्यालय प्रमुख जय महतोले आगामी दिनमा जिल्लाको अन्य क्षेत्रमा आलुको प्याकेन्जिङ र ब्राण्डिङ बिस्तार गर्न कार्यालयले सहजीकरण गर्ने बताउनुभयो । जिल्लाको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् । आलुको पकेट क्षेत्र मानिएको काभ्रेको नौ हजार हेक्टर क्षेत्रफलमा वार्षिक करिब एक लाख ७५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । रासस