• १२ पुस २०८१, शुक्रबार

रातो मत्स्येन्द्रनाथ केही रोचक प्रसङ्ग

blog

थतीबाट जावलाखेलमा रथ तानेर पुर्‍याउँदा त्यहाँ भात छर्ने गरिन्छ । चारैतिर भातका डल्ला फालेर भूत, प्रेत, पिशाच, डाकिनीलाई पन्छाउने गरिन्छ ।

रातो मत्स्येन्द्रनाथलाई तान्त्रिक वन्धुदत्तले कामरुकामाक्षबाट ल्याएका थिए । प्रथम पटक मत्स्येन्द्रनाथको हंसलाई कलशमा राखी ल्याउँदा कामरुकामाक्षका तान्त्रिकले त्यहाँका जनतालाई साथमा लिई आएर बिच बाटोमै हमला गरी कलश लुटेर लगे । त्यसपछि दोस्रो पटक तान्त्रिक वन्धुदत्तले कटुवाल दहको छेउमा बसी अष्टमातृकाको साधना गरी पाँच भैरव ह्यग्रिव भैरव, श्वेत भैरव, संहार भैरव, क्रोध भैरव र चन्द्र भैरवलाई आह्वान गरी साथमा लिई यक्ष राजा र यक्ष रानीलाई वशमा पारेर राक्षसहरूसँग युद्ध गरी दलबलसहित भैरवहरूले बोकेर ल्याएका थिए ।

तान्त्रिक वन्धुदत्तका वंशज कपिल वज्राचार्यका अनुसार त्यसपछि कटुवाल दह बुङमतीमा तान्त्रिक वन्धुदत्तले कलशबाट मत्स्येन्द्रनाथलाई निकालेपछि कलशभित्र पुनः के रहेछ भनी हेर्दा मत्स्येन्द्रनाथकै आमा डरलाग्दो राक्षसनी निस्केको देखियो । यस्तो डरलाग्दो राक्षसनीलाई देखेरै एक त जनता तर्सिने, अर्को त्यो राक्षसनीले मान्छेहरू मारेर खाने डरले तान्त्रिक वन्धुदत्तले हत्त न पत्त त्यस राक्षसनीलाई कुमारीको रूप दिई कलशबाट पूरै निकालिदिए । यसरी निस्केकी मत्स्येन्द्रनाथकी आमा पाटनमा रथयात्रा हुँदा जहाँ जहाँ रथ यात्रा हुन्छ, त्यहाँ त्यहाँ केही फरक ठाउँमा उभिएको आमालाई देखेर मत्स्येन्द्रनाथ रोकिने गरिएको हो भनिन्छ । यसरी रथयात्रा गर्दा रथ रोकिने ठाउँहरू पुल्चोकबाट गाःबहाल, गाःबहालबाट सुन्धारा, सुन्धाराबाट लगनखेल, लगनखेलबाट थती र थतीबाट जावलाखेल हुन् । 

करुणामय मत्स्येन्द्रनाथको रथयात्रा गर्नुअघि पुल्चोकमा रथ बनाइन्छ तर रथ बनाउनुअघि रामकोटस्थित फस्कुका फस्कु भैरवको मन्दिरमा गई त्यहाँ भएको प्वाल टाल्नुपर्ने चलन छ । फस्कु भैरवलाई नेपालभाषामा ‘फय्गाः भैलद्यः’ भनिन्छ । ‘फय्गाः’ भनेको हावाको खाल्डो अर्थात् उपत्यका वास्तवमा त्यहाँ होचो ठाउँवरिपरि पहाड र हावा चलिरहने ठाउँ भएकाले नै ‘फय्गाः’ भनिएको हो । त्यसैले त्यस ठाउँमा नटाली मत्स्येन्द्रनाथको रथ निर्माण गर्दा त्यहाँबाट हावा हुत्तिएर बहँदै आई मत्स्येन्द्रनाथको रथ नै ढालिदिन्छ भन्ने जनविश्वास रहिआएको छ । 

अर्को एउटा परम्परागत भनाइ पनि छ । त्यो हो, मत्स्येन्द्रनाथको पूजा गरेर भोज खाने जति पनि गुठी छन्, ती सबै आजसम्म ज्यापूहरूले नै चलाउँदै आइरहेका छन् । मत्स्येन्द्रनाथ देवताका बारेमा ज्यापूहरूमा कति ठुलो विश्वास छ भने मत्स्येन्द्रनाथलाई नियमित रूपमा सङ्क्रान्तिका दिन पूजा गर्ने गुठी नभएको टोलमा बस्नु हुँदैन भन्ने परम्परागत भनाइ र जनविश्वास रहिआएको छ । 

एउटा अर्को रमाइलो लाग्ने परम्परा र चलन अनुसार आफूलाई चक्रधर ललित ज्यापूका वंशज भनी गौरव ठान्ने पाटनको इबही टोलका ज्यापूहरूले विवाह गर्दा चिना देखाउने गर्दैनन् । यसको सट्टा उनीहरूले फूल, अक्षता र टीकाले करुणामय मत्स्येन्द्रनाथको पूजा गर्छन् । देउताको प्रसाद फूल, अक्षता र टीका लिई घर फर्कन्छन् । विवाह गर्नुपर्ने युवकयुवतीको बिचमा त्यही प्रसाद साटासाट गर्छन् । यसरी साटासाट गरेको प्रसाद उनीहरूले सिरानीमुनि राखेर सुत्छन् । अनि उनीहरूले सपनामा के देख्छन्, त्यसैका आधारमा उनीहरूको विवाहको टुङ्गो लगाइन्छ । सपना सकारात्मक र शुभ देखिए विवाह पक्का गरिन्छ । सपना नकारात्मक र अशुभ देखिए विवाह हुँदैन । 

करुणामय मत्स्येन्द्रनाथको रथ लगनखेलबाट थती लैजाने क्रममा बिचमा पुगेपछि महिलाहरूले मात्र रथ तानेर लान्छन् । पहिला यो चलन थिएन । करिब ८/१० वर्ष मात्र भयो । अहिले त पुराना पुस्ताका महिलासहित नयाँ पुस्ताका युवतीहरू सेल्फी खिच्दै तँछाडमछाड गर्दै रथ तान्ने डोरी समाउन पुग्छन् । अहिले आएर यो एउटा फेसन जस्तै बनिसकेको छ । सायद महिला अधिकारको नमुना पनि हो कि जस्तो लाग्ने गर्छ । त्यहीँ नै मत्स्येन्द्रनाथको रथको टुप्पाबाट नरिवल खसाल्ने गरिन्छ । यसरी खसाल्ने नरिवल हात पार्न गरिने तँछाडमछाड कुनै प्रतियोगिता जस्तै भान हुन्छ । उक्त खसालेको नरिवल पाउने व्यक्ति भाग्यमानी हुने, धनधान्य भई पुत्रलाभ हुने जनविश्वास रहिआएको छ । 

थतीबाट जावलाखेलमा रथ तानेर पु¥याउँदा त्यहाँ भात छर्ने गरिन्छ । चारैतिर भातका डल्ला फालेर भूत, प्रेत, पिशाच, डाकिनीलाई पन्छाउने गरिन्छ भने पाटनका सबै बासिन्दाको घरआँगनमा भूत, प्रेतले दुःख नदेओस्; सुख, शान्ति र धन धान्यले भरिपूर्ण भई सबैको श्रीवृद्धि भइरहोस् भन्ने कामना गरिन्छ । जाह्वला अर्थात् भात छरेको नामबाटै जाह्वला भएको हो भने त्यसैको अप्रभंश भएर जावलाखेल भन्न थालिएको हो । अहिले त्यहाँ चारैतिर सडक बनेकाले बजार नै भइसकेको छ । जावलाखेलमा मत्स्येन्द्रनाथको रथ पुगेको चौथो दिनमा भोटो देखाउने जात्रा गरिन्छ । त्यो भोटो पनि कर्कोटक नागराजले एक किसानलाई दिएका हुन् भनिन्छ । 

  

Author

प्रेममान डङ्गोल