• १९ साउन २०८१, शनिबार

उडान सुरक्षामा कडाइ गर्न सुझाव

blog

काठमाडौँ, साउन १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको चर्चा सेलाइसकेको छैन । यसैबेला डेढ वर्षअघि पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित चालक र सहचालकबिचको संवाद सार्वजनिक हुँदा थप प्रश्न सिर्जना गरेको छ । 

पोखरामा दुर्घटना भएको जहाजका चालक र सहचालकबिचको संवाद (ककपिट भ्वाइस रेकर्डस्) ले उडान सुरक्षामा नियामक निकाय गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको सम्बद्ध व्यक्तिहरूले बताउनुभएको छ । सो जहाजका पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडाबिच भएको संवादमा उहाँहरूबिच तालमेल नभएको, संवादमा अन्योल र अनेकौँ त्रुटि देखिएकाले उडान सुरक्षाका नियममा परिवर्तन गर्न आवश्यक रहेको उड्डयन क्षेत्रका विज्ञले प्रतिक्रिया दिएका छन् । 

नेपाल वायु सेवा निगमका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले विमानस्थलभित्रै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना र पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनालाई आधार मान्दै नियम परिवर्तन हुनुपर्ने बताउनुभयो । पहाडीले भन्नुभयो, “यती एयरलाइन्सको ककपिटमा भएको संवादले उहाँहरूबिच सञ्चार सहयोगमा तालमेलको अभाव र सुरक्षा नियम पालनामा लापर्बाही हुँदा दुर्घटना निम्त्याएको देखिन्छ । त्यस्तै सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले अन्तर्राष्ट्रिय विमानस्थलमै सुविधायुक्त ह्याङ्गरको आवश्यकतालाई औँल्याएकाले यसमा नियामक निकायको ध्यान जान आवश्यक छ ।” 

विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम, विमानस्थलमा आधुनिक उपकरणको अभाव र मानवीय त्रुटिलगायतका कारण नेपालमा हवाई दुर्घटना भइरहेकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षाको नियमलाई समेत समय अनुसार परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

अहिले पनि लुक्ला, जोमसोमलगायतका विमानस्थलमा पाँचचोटिसम्म जहाज उडान–अवतरण गरेर मात्रै कोपाइलटले पाइलटको जिम्मेवारी पाउँदै आएको जानकारी गराउँदै पहाडीले त्यस्ता प्रशिक्षण उडानलाई व्यावसायिक उडान बनाएर यात्रु बोक्न नहुने नियम बनाउन आवश्यक रहेको बताउनुभयो । सौर्य एयरलाइन्सको जहाजलाई पनि सिचेक (प्राविधिक उडान) का लागि मात्रै अनुमति दिएको भए मानवीय क्षतिबाट बच्न सकिने उहाँले धारणा व्यक्त गर्नुभयो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले ७२ जना यात्रु बोकेको विमानलाई प्रायोगशाला बनाउँदा ठुलो मानवीय क्षति भएकाले नियामक निकायले यसमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक भएको अडियो अनुसार जहाज अवतरण गर्दा पाइलटले फ्लाइट इन कमान्ड (नेतृत्व) आफैँले नलिँदा दुर्घटना भएको देखिन्छ । प्रशिक्षण लिइरहेका पाइलटले ७२ जना यात्रु बोकेर चेक उडान गरेर जहाजलाई प्रयोगशाला बनाएको बुझ्न सकिन्छ । यस्ता दुर्घटना हुन नदिन प्रशिक्षण उडानको समयमा मुख्य पाइलटले नै अवतरण र उडानको जिम्मेवारी लिनु पर्छ ।” 

विमानस्थलमै भएका एकपछि अर्को दुर्घटनाले नेपालमा ठुला विमानस्थलको आवश्यकता औँल्याएको भन्दै उहाँले विमानस्थललाई प्रविधियुक्त र पर्याप्त सुविधायुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । सार्वजनिक अडियोमा पाइलट केसीले कोपाइलट खतिवडालाई सबै कन्ट्रोल जिम्मेवारी दिएर आफूले निर्देशन मात्रै दिएको सुनिएको छ । कोपाइलटमा सामान्य जानकारी पनि नभएको जसरी संवाद भएको छ । यसबाट प्रशिक्षार्थी कोपाइलटमा पाइलटका लागि चाहिने योग्यतामाथि प्रश्न खडा भएको उहाँले बताउनुभयो । 

विज्ञहरूले प्रशिक्षण उडान भए पनि शिक्षकले विद्यार्थीलाई परीक्षा कोठामा सिकाए जस्तै सिकाउनु, नयाँ विमानस्थलमा पहिलोचोटि (पश्चिम–पूर्व) अप्ठ्यारोतर्फबाट अवतरण गराउन खोज्नु, प्रशिक्षार्थी कोपाइलटलाई पास गराउन क्षमता नभएको अवस्थामा सम्पूर्ण जिम्मेवारी दिनु त्रुटि देखिएकाले नियमनमा कडाइ हुनुुपर्ने बताउनुभएको छ ।  

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।