• १८ साउन २०८१, शुक्रबार

भुल्के बेँसीमा विकासले निम्त्याएको विनाश

blog

शेरबहादुर राई

ओखलढुङ्गा, साउन १८ गते । भुल्के बेँसीमा गएराती अविरल वर्षासँगै आएको बाढीले सुनकोशी गाउँपालिका–६ भुल्के दोभानमा धानखेत पुरिएको छ । भुल्केका करिब १६ जनाको धान रोपिएको खेत बाढीसँगै आएको खहरेले पुरिएको हो । 

भुल्के ताप्के डाडाँ हुँदै सुनकोशी गाउँपालिका सदरमुकाम जान खनिएको सडकका कारण वर्षासँगै आएको खहरे बाढीले भुल्के दोभानको खेत र धान पुरिएको स्थानीय प्रभा गौतमले जानकारी दिनुभयो । 

गौतमका अनुसार सडक खनिएको कारण माथि पाखाबाट आएको खहरेले भुल्के र मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुर जोड्ने झोलुङ्गे पुलमा पनि क्षती पुगेको छ । यसका साथै मानेभञ्ज्याङ माधवपुरको माटे दोभानमा पनि बाढीसँगै आएको खहरेले खेत पुरिएको छ । 

त्यहाँ पनि सडक खनिएको कारण वर्षासँगै आएको खहरेले खेत पुरिएको छ । भुल्के दोभानमा के कति क्षेत्रफलमा क्षति पुगेको भन्ने बारे विवरण आउन बाँकी रहेको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो । 

स्थलगत अनुगमन गरेर क्षतिको विवरण सङ्कलन गरिने अध्यक्ष तामाङको भनाइ छ । सडक खनिएकै कारण वर्षासँगै आएको खहरे बाढीले धान खेत पुरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । क्षतिको यकिन विवरण आउन बाँकी छ ।