• १८ साउन २०८१, शुक्रबार

नरभक्षी बाघलाई नियन्त्रणमा लिइयो

blog

उखुबारीमा बेहोस बनाइएको बाघ । तस्बिर ः गोविन्द राज

अविनाश चौधरी

धनगढी, साउन १८ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा हिजो एक युवतीलाई मारेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । 

शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जबाट खटेको प्राविधिक टोलीले आज बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो । बाघले दोधारा चाँदनी नगरपालिका–२ मा बाघले २३ वर्षीया हीरा शाहलाई हिजो मारेर सोही ठाउँको उखुबारीमा घुमिरहेको थियो । बाघलाई उखुबारीबाटै नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिनुभयो । 

उहाँले बाघ एकदम बेहोस अवस्थामा रहेको र त्यसलाई मजगाउँस्थित निकुञ्जको हेडक्वार्टरमा पुर्‍याएर चिकित्सकको टिमले चेकजाँच गर्ने बताउनुभयो । “बाघ धेरै बेहोस छ, उठ्छ वा उठ्दैन भन्ने चेकजाँचपछि मात्रै थाहा हुन्छ”, उहाँले भन्नुभयो । 

बाघलाई हिजो दिनभरि नियन्त्रणमा लिने प्रयास असफल भएको थियो । आज बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिन सफल भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । 

हिजो उखुबारीमा बाघ हिँडेको हिड्यै गरेपछि प्राविधिक टोली बेहोस बनाउन असफल भएको भएको थियो । हिजो दिनभरि प्रयास गर्दा पनि असफल भएपछि हात्तीसहितको प्राविधिक टोली रातभरि बाघको रेकी गर्दै सोही स्थानमा बसेको थियो । घेरा हालेको ठाउँबाट बाघलाई अन्यत्र जान नदिनको लागि लाइट बालिएको थियो । त्यसै गरी रातभरि १० वटा ट्याक्टर चलाएर रेकी गरिएको थियो । लाइट र ट्याक्टरको व्यवस्था नगरपालिकाको कार्यालयले गरेको थियो । यस्तै, भोकले उखुबारीबाट बाघ नभागोस् भनेर एउटा पाडो बाँधेर राखेकोमा त्यसलाई खाएको जनाइएको छ । 

बाघले मान्छे मारेपछि दोधारा चाँदनी नगर त्रसित बनेको थियो । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका थिए ।