• १८ साउन २०८१, शुक्रबार

एघार वर्षदेखि अलपत्र पुल निर्माण सुरु

blog

मुग्लिङ नारायणगढ सडक खण्डको घुमाउनेमा निर्माण हुँदै गरेको पुलको पिल्लर । तस्बिर: शालिग्राम

शालिग्राम नेपाल

चितवन, साउन १९ गते । मुग्लिङ नारायणगढ सडक खण्डको घुमाउनेबाट तनहुँ जोड्ने पुल निर्माण एघार वर्षपछि गति लिन थालेको छ । 

घुमाउनेबाट दमौली जानको लागि छोटो मार्ग हुने भएकाले यो सडक निर्माणको काम सुरु भएको थियो । दमौलीबाट दक्षिण पूर्व हुँदै मुग्लिङ नारायणगढ सडकको घुमाउनेमा जोडिन्छ । मुग्लिङबाट दमौली जानभन्दा घुमाउनेबाट जाँदा १० किलोमिटर सडक छोटो दूरी पर्दछ । 

पहाडी क्षेत्रका बस्तीलाई सडक सञ्जालसँग जोड्न र वैकल्पिक राजमार्ग निर्माणको काम सुरु गरिएको थियो । वैकल्पिक राजमार्ग अन्तरगत यो सडकलाई जोड्न घुमाउनेमा २०७० असार २८ गते पुल निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । तर सम्झौता बमोजिम काम हुन नसकेपछि म्याद थप गर्दै आएको कम्पनीले अहिले कामलाई अगाडि बढाएको छ । 

सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले ठेक्का लागेर बन्न नसकेको लामो समयपछि निर्माणले गति लिएको छ । दुई वटा पिल्लर बनी सकेका छन् अब छिटो माथिको ढलान हुनेछ । ठेकेदारलाई ताकेता गरेर काम गर्न लगाएका छौ ज्ञवालीले भन्नुभयो । 

सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी वविता शर्माले पछिल्लो पटक थपिएको म्याद चालु आर्थिक वर्षको चैत २२ गते सकिन्छ । ‘भौतिक प्रगति हेर्दा चालिस प्रतिशत सकिएको पाएका छौ’, शर्माले भन्नुभयो ‘सुरुमा ठेक्का सम्झौता भएपछि काम हुन सकेन, पछि डिजाइन परिवर्तन भएपछि काम सुरु भएको छ ।’ घुमाउनेमा त्रिशूली नदी माथि निर्माण हुने पुलको लम्बाइ १०५ रहेको छ । अहिले पुलको दुवै तर्फ पिल्लर निर्माण भएको छ । 

निर्माण स्थानमा सामान्य पहाड काटेर राखेको वर्षौँपछि निर्माणकार्य भएको हो । तनहुँ र चितवन तर्फ दुई वटा अग्ला पिल्लर निर्माण भएका छन् । आर्ज ( बिचमा पिल्लर नभएको ) नमुना पुल निर्माण हुनेछ । मुग्लिङबाट पोखरा जान निर्माण गरिएको जस्तै यहाँ पुल बन्न लागेको हो । अहिले बर्सात भएकाले निर्माण कार्य रोकिएको छ । बर्सात सकिएपछि काम सुरु हुनेछ सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी शर्माले भन्नुभयो । 

कुल ११ मिटर चौडाइ रहने पुलको यातायात गुड्ने भाग भने ९ मिटरको रहनेछ । दोहोरो सवारी साधन चलाउन मिल्ने गरी निर्माण हुने पुलको बिचको भागमा फलामको फर्मा बनाउनुपर्ने हुन्छ । त्यसको लागि ठेक्का भइसकेको र त्यसले काम थालनी गरिसकेको कार्यालयले जानकारी दिएको छ । बर्सात सकिएपछि फर्मा ल्याएर स्ल्यापको काम हुनेछ । यो पुल निर्माण भएपछि पूर्व र पश्चिमबाट नारायणगढ हुँदै पोखरा जान आएका साधन मुग्लिङ नपुग्दै यही मार्गबाट दमौली निस्कन सक्नेछन् । 

१० करोड २१ लाख ८६ हजार ५५१ रुपियाँमा निर्माण गर्न मृतसञ्जीवनी मकवानपुरले ठेक्काको सम्झौता गरेको हो । पुल निर्माणपछि बुद्धसिंह मार्ग भएर दमौली जान सकिन्छ । यस क्षेत्रका पहाडी बासिन्दाको लागि यो मार्ग कोसेढुङ्गा साबित हुनेछ ।