• ११ मंसिर २०८१, मङ्गलबार

सामाजिक सुरक्षा भत्ता गाउँटोलमा

blog

तम्घास समाचारदाता

तम्घास, साउन १७ गते । गुल्मी कालीगण्डकी गाउँपालिका–१, हर्मिचौरका ज्येष्ठ नागरिकले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता पाएका छन् । हर्मिचौरकी ७५ वर्षीय पार्वती पाण्डेले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउँदा बैङ्कमा जानुपर्ने समस्याबाट मुक्त भएको बताउनुभयो । उमेर घर्किंदै जाँदा गाडीमा बसेर बैङ्कमा जान पनि नसकिने, समयमा गाउँमै आएर भत्ता वितरण गर्दा सहज भएको उहाँले बताउनुभयो । सोही वडाका १०८ वर्षीय तुलसीराम भट्टराई, कौशिला पाण्डे र थानिश्वरा पाण्डेले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउँदा राहत अनुभव गरेको बताउनुभयो । उहाँहरूले स्थानीय सरकारले ज्येष्ठ नागरिकको समस्यामा सारथि बन्न आग्रहसमेत गर्नुभयो । आफूहरूलाई भत्ता लिनका लागि पालिका र बैङ्कमा जान समस्या हुने गरेको गुनासो उहाँहरूले राख्नुभयो । 

वडाध्यक्ष लालुप्रसाद पाण्डेले ज्येष्ठ नागरिकको सहजताका लागि बैङ्कसँगको सहकार्यमा गाउँमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो । टोल टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र अति वृद्ध तथा अशक्तका लागि घरमै गएर वितरण गर्ने वा घरका सदस्यमार्फत प्रदान गर्दै आएको उहाँको भनाइ छ । ज्येष्ठ नागरिक १८७, दलित ज्येष्ठ नागरिक २२, एकल महिला २४, बाल संरक्षण ३१, पूर्ण अपाङ्गता भएका १९ र अति अशक्त अपाङ्गता भएका २० जना रहेको सामाजिक परिचालक मोनिका बस्यालले जानकारी दिनुभयो ।