• ११ मंसिर २०८१, मङ्गलबार

बालमैत्री खानेपानीका धारा निर्माण

blog

रलिङ मावि बरगाउँमा निर्माण गरिएको बालमैत्री खानेपानी धारा ।

हुम्ला समाचारदाता

हुम्ला, साउन १७ गते । बालमैत्री खानेपानीका धारा निर्माण भएपछि विद्यार्थीलाई पानी प्रयोग गर्न सहज भएको छ । साना बालबालिकालाई लक्षित गरी सिमकोट गाउँपालिका–३ को रलिङ माविले विद्यालयमा बालमैत्री खानेपानीका धारा निर्माण गरेको हो । 

विद्यालयका प्रधानाध्यापक छिमी लामाले यसअघि एउटा मात्र धारा निर्माण भएको र त्यो पनि पुरानो भएपछि पानी नआएको बताउनुभयो तर अहिले नयाँ बालमैत्री धारा निर्माण भएपछि विद्यार्थीलाई पानी पिउन सहज भएको बताउनुभयो । उहाँका अनुसार एउटै धारा अग्लो व्यक्तिले प्रयोग गर्न मिल्ने र अरू पाँच वटा धारा साना नानीहरूले प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएका छन् । 

एकै समयमा पाँच जना विद्यार्थीले पानी प्रयोग गर्न सक्ने गरी धारा निर्माण गरिएका छन् । स्नोल्यान्ड एकीकृत विकास केन्द्रका निर्देशक गोविन्द शाहीले विद्यालयको मागका आधार बालमैत्री खानेपानीका धारा निर्माण गरिएका बताउनुभयो । उहाँले पछिल्लो समय विद्यालयमा निर्माण गरिने धारा सबै उमेर समूहका विद्यार्थीलाई प्रयोग गर्न सहज हुने गरी निर्माण गर्नुपर्ने भएकाले बालमैत्री धारा निर्माण गरिएको बताउनुभयो । दुई सय मिटर टाढाबाट पाइप लाइन खनेर विद्यालयमा उक्त धारा निर्माण गरिएका छन् । धारा निर्माणका लागि पाँच लाख २० हजार ४४० रुपियाँ केन्द्रले सहयोग गरेको छ भने एक लाख विद्यालयले जनश्रमदान गरेको थियो । यसबाट उक्त विद्यालयमा १५५ जना विद्यार्थीका साथै शिक्षक र विद्यालय कर्मचारीसमेत लाभान्वित भएका छन् । 

यसअघि सिमकोट गाउँपालिका–७ को कैशाल माविमा यस्तै डिजाइनको धारा निर्माण गरिएको थियो । सिमकोट गाउँपालिका–५ को भीमसेन प्रावि, वडा नं. ६ को कालाशिल्ता मावि र खार्पुनाथ गाउँपालिका–३ को हुम्ला माविमा पनि केन्द्रले बालमैत्री खानेपानीका धारा निर्माण गरेको छ ।