• १४ पुस २०८१, आइतबार

कृषि प्राविधिक पुनः आन्दोलनमा

blog

काठमाडौँ, साउन १७ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले आन्दोलन पुनः सुरु गरेका छन् । नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र माग पूरा गर्ने भनी दिएको आश्वासन पूरा नभएको भन्दै कर्मचारीले बुधबारदेखि पुनः आन्दोलन सुरु गरेका छन् । 

गत असार १६ गतेदेखि मन्त्रालयको प्रवेशद्वारमा धर्ना बसी कर्मचारीले आन्दोलन सुरु गरेका थिए । मन्त्रीमा नियुक्त हुनेबित्तिकै मन्त्री अधिकारीले १५ दिनभित्र माग पूरा गर्ने आश्वासन दिनुभएको थियो । सो माग पूरा नभएका कारण आफूहरू पुनः आन्दोलन सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले बताउनुभयो । 

अधिकृत स्तरका कर्मचारीले मन्त्रालयको प्रवेशद्वारमा धर्ना दिएर आन्दोलन सुरु गरेका छन् । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी अधिकृत पौडेलले दिनुभयो । पौडेलका अनुसार २०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत कर्मचारीहरूलाई समायोजन गरेपछि वृत्ति विकासका लागि नियमित रूपमा लोक सेवा नखोलिएको र तत्काल लोक सेवामार्फत सो कार्य सुरु गर्न माग गर्दै धर्नामा बस्दै आएका छन् ।

हाल देशभर तीन सयभन्दा बढी कृषि प्राविधिक छन् । तीमध्ये काठमाडौँ उपत्यकामा कार्यरत कर्मचारी आन्दोलनमा उत्रेका छन् । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले आन्दोलनकारीको माग चाँडै पूरा हुने बताउनुभयो । कृषि मन्त्रालयले आन्दोलनकारीको माग पूरा गराउन अर्थ मन्त्रालय र समान्य प्रशासन मन्त्रालयसँग नियमित छलफल र समन्वय भइरहेको बताउँदै उहाँले चाँडै नै सहमति हुनेमा आफूले विश्वास लिएको बताउनुभयो । अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा पनि सकारात्मक देखिएका छन्, केही प्राविधिक कुरा नमिलेको कारण केही ढिलाइ भएको हो भन्दै उहाँले चाँडै नै सहमति हुने बताउनुभयो ।