• १० मंसिर २०८१, सोमबार

सुनको मूल्य बढ्दा घट्यो आयात

blog

काठमाडौँ, साउन १७ गते । गत आर्थिक वर्षमा सुनको आयात ४० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा २५ अर्ब ९५ करोड ९३ लाख रुपियाँ बराबरको २९ लाख नौ हजार ग्राम सुन आयात भएको हो ।

आव २०७९/८० मा ४३ अर्ब ९० करोड रुपियाँ बराबरको ३५ लाख सात हजार ८८४ ग्राम सुन आयात भएको थियो ।अघिल्लो आवको तुलनामा गत आवमा सुनको मूल्यको आधारमा १७ प्रतिशत र परिमाणको आधारमा ४० प्रतिशतले सुनको आयात घटेको विभागको तथ्याङ्कले देखाएको छ । 

 गत आवको सुनको मूल्य बढ्दा आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा समेत उल्लेख्य कमी भएको हो । आव २०८०/८१ को साउन महिनामा तोलामा एक लाख १० हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मूल्य असार महिनाको अन्तिममा बढेर एक लाख ४६ हजार नौ सय रुपियाँमा कारोबार भएको थियो । एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा ३६ हजार रुपियाँले बढेको तथ्याङ्कले देखाएको छ । 

चालु आवको साउन महिनामा सुनको मूल्य बढेर एक लाख ४९ हजार आठ सय रुपियाँसम्म पुगेको थियो । जुन अहिलेसम्मकै उच्च मूल्य हो । 

गत आवभरि सुनको मूल्य निरन्तर उकालो लागेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बजारमा सुनको मूल्य बढ्दा माग न्यून भई खपत कम हुँदा आयातमा समेत कमी आएको बताउनुभयो । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा सुनको खपत नै न्यून हुँदा आयातमा कमी भई यसले राजस्व सङ्कलनमा समेत कमी आएको उहाँले बताउनुभयो । 

नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कले दैनिक २० केजी सुन आयात गर्ने कोटा निर्धारण गरेको छ । सोही अनुसार बैङ्कले सुनको आयात गर्ने गरेका छन् । वाणिज्य बैङ्कले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने गर्छन् । 

गत आवमा सुनको आयातका क्रममा १५ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको थियो । चालु वर्षमा भने भन्सार बढाएर २० प्रतिशत पु¥याइएको छ । 

भन्सार बढ्दा सुनको मूल्य थप तोलामा छ हजार महँगो पर्न गएको छ । लगनको सिजन भए पनि यसपालि कारोबार भने विगतका वर्षको तुलनामा बढ्न नसकेको उहाँको भनाइ छ । अघिल्ला वर्ष लगनको सिजनमा दैनिक ४० देखि ५० किलो सुन बजारमा खपत हुने गरेकोमा अहिले पाँचदेखि १० केजी खपत हुने गरेको व्यवसायी बताउँछन् ।